दमक/भोली कार्तिक २७ गतेदेखि झापाको धार्मिक पर्यटकीय क्षेत्र सतासीधाममा १०९ कुण्डीय हवन तथा श्रीमद भागवत कथा महोत्सव शुरु हुँदैछ ।
जिल्ला समन्वय समिति झापासहित स्थानीय सरकार र गोलक गोवद्र्धन गौशालासहितको संयुक्त तत्वाधानमा शुरु हुने सो धार्मिक अनुष्ठानको प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गर्ने आयोजक समितिले जनाएको छ ।
विहान ९ बजे दोमुखास्थित कनकाई नदीमा स्नान गरि अर्जुनधारा ज्वलेश्वर धाम हुदै पहिलो पटक योगि नरहरीनाथले कोटिहोम क्षेत्रमा पुगेर झिलझिले सताक्षीधाम क्षेत्रको रमिते डाडाबाट १२ बजे कलशसहितको शोभा यात्रा निकाल्ने आयोजकले जनाएको छ । कार्यक्रममा महामण्डलेश्वर अनन्त श्री विभुसित स्वामी विष्णु वल्लभानन्द महाराज लगायतका धर्म गुरुको उद्धघाटन कार्यक्रममा सहभागिता रहने संरक्षक आचार्य नन्दकिशोर भारद्धाजले जानकारी दिनु भयो ।
सो अनुष्ठानको पूर्वसन्ध्यामा सतासीधाम परिसरमा श्रीकृष्ण प्रणामी युवा परिषदले सरसफाई कार्यक्रम गरेको छ भने निजी क्षेत्रसंगको सहकार्यमा स्थानीय शिवसताक्षी नगरपालिकाले इन्टरनेट सेवा समेत विस्तार गरेको छ । सो सेवा मार्फत एकैपटक १ हजार २ सय बढी सर्वसाधारणले मोवाइलमार्फत त्यहाँको इन्टरनेट उपयोग गर्न सक्ने जनाइएको छ । यस अघि त्यहाँ इन्टरनेटको पहुँच थिएन ।
मंसिर ९ गते सम्म आयोजना हुने सो अनुष्ठानलाई सताक्षी धार्मिक महोत्सव नाम दिईएको छ । महोत्सव परिषरमा आजैदेखि भारत र भुटानका हिन्दु धर्मालम्वीहरु आएका महोत्सव प्रचार प्रसार समितिका संयोजक विनोद सापकोटाले जानकारी दिनु भयो ।
त्यहाँ आउन धार्मिक पर्यटकहरुलाई लक्षित गरेर आवासीय सुविधाका लागि कुटी समेत निर्माण गरिएको छ । नेपाली सेनाले त्यहाँ चिनियाँ कुटी निर्माण गरेका छन् ।