दमक/ दमकस्थित दमक बहुमुखी क्याम्पसमा कार्यरत प्राध्यापकहरुको शिक्षण कलालाई प्रविधिमैत्री बनाउँदै क्याम्पसले प्राध्यापकहरुसँगको साझेदारीमा थप २१ वटा ल्याप्टप प्रदान गरेको छ ।
क्याम्पसले मंगलबार संक्षिप्त कार्यक्रम गरी प्रतिगोटा १ लाख ६ हजार रुपैयाँ मोल पर्ने ल्याप्टपमा पचास प्रतिशत अर्थात ५३ हजार रुपैयाँ अनुदान प्रदान गरी प्राध्यापकहरुलाई उपलब्ध गराएको हो ।
क्याम्पसले यस अघिपनि त्यस किसिमको अध्यापनमा सहयोग पुरयाउने सामग्री प्रदान गर्दै आएको थियो ।
क्याम्पसको सभाहलमा आयोजित संक्षिप्त कार्यक्रमकाबीच क्याम्पस सञ्चालक समिति अध्यक्ष ढुण्डीराज भण्डारी, पूर्व अध्यक्ष सुरेश सुब्बा, क्याम्पस प्रमुख यज्ञराज गिरी, क्याम्पस शिक्षा समिति संयोजक अम्बिका खनाल, पूर्व क्याम्पस प्रमुख डा. नेत्रबहादुर बुढाथोकी लगायतले ति ल्याप्टप हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा क्याम्पस सञ्चालक समिति अध्यक्ष भण्डारीले पूर्व क्षेत्रकै नमुना क्याम्पसका रुपमा दमक बहुमुखी क्याम्पसलाई स्थापित गराउन क्याम्पसका प्राध्यापक, प्रशासनिक फाँट, सञ्चालक समिति, बिद्यार्थीहरु लगायत सबै पक्षको सहयोग र समन्वय गरेर अघि बढेको उल्लेख गरे ।