दमक/ झापाको दमकमा क्रियाशील आशाको दियो नेपाल नामक सामाजिक संस्थाले दमकको वडा नं ४ र वडा नम्बर ३ का सर्वसाधारण एक सय परिवारलाई बिजुलीको बल्ब निशुल्क वितरण गरेको छ ।
प्रति परिवारका २ वटाका दरले कूल दुई सय बल्ब वितरण गरेको हो ।
सो संस्थाले दमक ४ को पिपल टोल र टुक्रे टोल तथा दमक ३ को उज्यालो टोलमा बल्बको आवश्यकता झेलिरहेका सर्वसाधारणलाई शुक्रबार एकै दिन अलग अलग कार्यक्रम गरेर सो संख्यामा बिजुलीका बल्ब वितरण गरेको हो । बल्ब वितरण कार्यक्रममा बोल्दै दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाइँले ससाना बस्तुहरुको आवश्यकता परिपूर्ति नहुँदा ठुलो समस्या झेल्नु परिरहेको हुन सक्ने अवस्थालाई दाता संस्थाले बुझ्ने कोशिस गरेको भन्दै धन्यवाद व्यक्त गरिन् । अमेरिकामा रहेको एचडीएनपील नामक अन्तराष्ट्रिय संस्थाले आशाको दियो नेपालसँगको सहकार्यमा उपलब्ध गराईएका ति बल्बको माध्यमबाट समाजमा लुकेका हरेक बिषयहरुलाई छर्लङग देख्न सक्ने अवस्थाको सिर्जना गर्ने अपेक्षा आयोजकले लिएको छ ।
कार्यक्रममा उपप्रमुख भट्टराईले सहभागी सर्वसाधारणलार्इृ लक्षित गर्दै स्थानीय सरकारको उपप्रमुखको हैसियतले आफू सो क्षेत्रका समस्याहरुबारेमा जानकार रहेको बताउँदै युवा तथा महिलाहरु, श्रमिकहरु र आर्थिक रुपले पछाडी परेका विपन्न नागरिकहरुलाई लक्षित गर्दै अघि सारिएका कार्यक्रमहरुबारे जानकारी गराइन् ।
शिक्षा, स्वास्थ्य र अन्य बिकास निर्माणका क्षेत्रमा भइरहेका कामहरुको चापमा नागरिकहरुका सामान्य भन्दा सामान्य लाग्ने तर अति आवश्यक कुराहरु पूरा हुन नसकिरहेको हुन सक्ने भन्दै टोल बिकास संस्था, वडा कार्यालय तथा अन्य माध्यमबाट समेत सम्पर्कमा आउन उपप्रमुख भट्टराईले सार्वजनिक अपिल समेत गरिन् ।
पिपल टोलमा आयोजित कार्यक्रममा स्थानीय टोल बिकास संस्थाका प्रतिनिधिहरु, सर्वसाधारणहरु आशाको दियो नेपालका कार्यसमिति सदस्यहरु चन्द्र खत्री, मोहन ओली, दमक ४ का राजनीतिक तथा सामाजिक व्यक्तित्व दिपेश दाहाल एचडीएनपी नेपालका संयोजक मिलन आचार्य लगायतको उपस्थिती रहेको थियो भने वडा नं ३ को उज्यालो टोलमा आयोजित कार्यक्रममा संस्थाका प्रतिनिधिहरुसहित कांग्रेस दमक ३ का वडा सभापति गोपाल गिरी लगायतको पनि उपस्थिती रहेको थियो ।
कार्यक्रम आशाको दियो नेपालका अध्यक्ष प्रकाश प्रसाइँको अध्यक्षतामा सम्पन्न भएको थियो । सो संस्थाले यसअघि दमकको चियबगानका महिला श्रमिकहरुलाई निशुल्क सेनिटेरी प्याड वितरण गर्नुका साथै विभिन्न वडामा किटनाशक झुल समेत वितरण गरेको थियो ।