दमक/ झापाको कमल गाउँपालिकाको २ नम्बर वडामा पाठेघरको मुखको क्यान्सर गराउने एचपीभी भाइरस विरुद्धको खोप अभियान सञ्चालनका बिषयमा वडास्तरीय अभिमुखीकरण सम्पन्न भएको छ ।
वडाअध्यक्ष तथा वडा खोप समन्वय समितिका अध्यक्ष अशोक सुब्बाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्यहरू, वडा सचिव सागर दाहाल, महिला स्वास्थ्य स्वयंसेविका, विद्यालयका शिक्षक–शिक्षिका, टोल विकास संस्थाका प्रतिनिधि, पत्रकार तथा अन्य सरोकारवालाहरू सहभागी थिए ।
४३८ किशोरीलाई लक्षित गर्दै खोप अभियान
कार्यक्रममा एचपीभी खोप अभियान २०८१ को प्रभावकारिता, आवश्यक तयारी र सफल कार्यान्वयनबारे छलफल गरिएको थियो ।
अभियान अन्तर्गत विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा तथा विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरूगरी सो वडामा कूल ४३८ जनालाई लक्षित गरी खोप कार्यक्रम सञ्चालन गरिने वडाध्यक्ष सुब्बाले जानकारी दिए ।
माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभर सञ्चालन हुने यो खोप अभियान अन्तर्गत कमल २ मा माघ २२ देखि २८ गते सम्म खोप लगाइनेछ । सोका लागि सामुदायिक र निजी गरी पाँच वटा बिद्यालय र कमल नगर अस्पतालमा फरक फरक मितिमा खोप लगाइने भएकाले सम्बन्धित उमेर समूहका किशोरीहरूले अनिवार्य रूपमा खोप लगाउन वडा अध्यक्ष सुब्बाले अपिल गरेका छन् ।
माघ २२ गते कमला मदन आश्रित मावि, २३ गते पाथीभरा बोर्डिङ, २४ गते महेन्द्ररत्न मावि, २५ गते नवोदय मावि, २७ गते ज्योती मावि र २९ गते कमल नगर अस्पतालमा एचपीभी खोप दिइने तालिका वडाले सार्वजनिक गरेको छ । बिद्यालयमा खोप लगाउन छुटेका र बिद्यालय बाहिर रहेका खोप लगाउनु पर्ने उमेर समुहका किशोरीहरुलाई अस्पतालमा खोप दिइने कमल नगर अस्पतालका कार्यलय प्रमुख दिपक दाहालले जानकारी दिए ।