दमक/आजदेखि झापाको दमकमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु भएको छ ।

दमक नगरपालिकाको सहयोगमा स्थानीय विभिन्न एक दर्जन बढी संघ संस्थाहरुले संयुक्त रुपमा आयोजना गरेको अभियानको दमक नगरपालिका परिसरमा आयोजित कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।
दमक नगरपालिकाकी उपमेयर गीता अधिकारीको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले १६ दिने अभियान एउटा सांकेतिक कार्यक्रम मात्रै भएको र यसलाई समाजमा सधैं निरन्तर सक्रिय बनाई राख्नु पर्नेमा जोड दिनु भयो । उहाँले सबै खाले हिंसाबाट मुक्त समाज निर्माणका लागि समाजका सबैपक्षबीच सहकार्य हुनुपर्ने पनि बताउनु भयो ।
उद्घाटन कार्यक्रममा इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पण्डितले अझै पनि समाजमा हिंसा पीडितहरु खुलेर न्यायलयको ढोका सम्म नपुगिरहेको भन्दै समाजका अगुवाहरुले त्यस्ता पीडितहरुलाई न्यायका लागि अघि बढ्न प्रेरित गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो । उद्घाटन कार्यक्रममा दमक अपाङग सहयोग समितिका सचिव मदन बोहोरा, खेलकुद क्षेत्रकी अगुवा महिला विद्या चाम्लिङ, सहकारीकर्मी अगुवा महिला चन्द्रा खड्का लगायतले पनि हिंसा मुक्त समाज निर्माणमा जोड दिएका थिए ।
दमक ५ की निर्वाचित महिला वडा सदस्य कृतिका भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रममा स्थानीय सामाजिक संघ संस्थाहरु लगायत सरकारी निकायका कर्मचारीहरुसहित सर्वसाधारणहरुको उपस्थिती थियो । अगुवा महिला नेतृ तथा सामाजिक अभियान्ता दुर्गा काफ्लेको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन नगरपालिकाको महिला तथा बालबालिका शाखाकी प्रमुख सविता भण्डारीले गर्नुभएको थियो ।
सो अभियान अन्तर्गत १६ दिन सम्म एक दर्जन बढी संघ संस्थाहरुले लैगिंक हिंसा विरुद्ध विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने नगरपालिकाका समाजकल्याण शाखा प्रमुख डम्बर बरालले जानकारी दिनु भयो ।


