दमक/झापाको शिवसताक्षी नगरपालिकाका प्रमुख, उपप्रमुख, तथा प्रमुख प्रशासकिय अधिकृत समेत केहि दिनदेखि नगरपालिका कार्यालयमा हुनुहुन्न ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु बहादुर अधिकारी गत २५ कार्तिक देखि ८ मसिंर सम्मका लागि चीनको बेइजिङ तर्फ जानु भएको थियो ।
९ गते सोमबार सम्म उहाँ कार्यालय आउनु भएको छैन । उहाँको अनुपस्थितीमा निमित्त प्रशासकिय अधिकृतको जिम्मेवारी उपसचिव सुरेन्द्र दाहालले पाउनु भएको थियो ।
सोमबार दाहालले पनि लेखा अधिकृत भीम खवासलाई निमित्त दिनु भयो । कर्मचारी मात्रै होइन नगरपालिकाका निर्वाचित नगर प्रमुख चन्द्रकुमार शेर्मा कार्तिक २८ गतेदेखि नै नगरपालिकामा हुनुहुन्न ।
उहाँको अनुपस्थितीमा प्रमुखको जिम्मेवारी सम्हाल्नुपर्ने उपप्रमुख भोजकुमारी नेपाल २८ गतेदेखिनै नियमित रुपमा सताक्षीधाममा भईरहेको एउटा धार्मिक अनुष्ठानमा कर्ताका रुपमा रहनु भयो । उहाँसंगै नगरपालिकाका कर्मचारी डिल्ली नेपाल तथा अन्य कर्मचारीहरु पनि महायज्ञको व्यवस्थापनमा लागे ।
कार्यालयमा नगर उपप्रमुखको पनि अनुपस्थितीसंगै नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृत जस्ता महत्वपूर्ण पदका कुर्सी खाली मात्रै छैनन सर्वसाधारणहरु आफ्नो गाउँमै आएको भनिएको सिंहदरबारको यो अवस्था देखेर छक्कै परिरहेका छन् ।
सोमबार दिउँसो नगरपालिका कार्यालयमा धेरै सेवाग्राहीहरुले नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतलाई भेटेर आफ्नो समस्या सुनाउन नपाएको बताए ।
फरक फरक काम लिएर आएका सर्वसाधारणहरुले भने– गाउँमा सिंह दरबार आएसंगै जनताको काममा सहज होला भनेको त सिंहहरुलाई नै पो भेटिएन ।
सामान्यतया जुनसुकै ओहोदाका कर्मचारी वा जनप्रतिनिधिहरुले आफ्नो अनुपस्थितीमा आफ्नो जिम्मेवारी कसैलाई तोकेर दिने प्रचलन छ ।
तर शिवसताक्षी नगरपालिकामा जिम्मेवारी एकले अर्कोलाई, अर्कोले अर्कालाई दिएर झारो टार्ने काम गरिरहँदा नागरिकहरुका दैनिक कामकाजहरुमा परिरहेको अप्ठ्यारोका बिषयमा कसैले चासो नराखेको नगरबासीहरुको गुनासो छ ।
यस बिषयमा प्रतिक्रिया लिन निष्कर्ष न्यूजले सम्पर्क गर्न खोज्दा नगर प्रमुख शेर्मा , उपमेयर नेपाल र नगरपालिकाका सूचना अधिकारी प्रकाश चौधरीले समेत सम्पर्कमा आउन चाहनु भएन । नगरपालिकामा सोमबार मात्रै उपसचिव दाहालबाट निमित्तको जिम्मेवारी पाउनु भएका लेखा अधिकृत खवासले भने नगर प्रमुख शेर्मा आजनै कम्बोडियाबाट र प्रमुख प्रशासकिय अधिकत अधिकारी बेइजिङबाट काठमाडौं फर्किने पूर्व योजना रहेको बताउनु भयो । उहाँले उपप्रमुख नेपाल भने सतासीधाममा आज सम्म चलेको महायज्ञमा नै रहनु भएको पनि जानकारी दिनु भयो ।
यस अघि सरकारी कार्यालयहरुमा कर्मचारी भए नभएको जिल्ला प्रशासन कार्यालयबाट आकस्मिक छड्के जाँच गरि अनुपस्थित हुनेलाई सचेत गराउने र कारवाहीको समेत प्रकृया अघि बढ्थ्यो ।
तर पछिल्लो समयमा जनप्रतिनिधिहरु आएसंगै स्थानीय तहहरुमा त्यस किसिमको अनुगमन नहुँदा जनप्रतिनिधिहरु र कर्मचारीले आफ्नै खुशीमा कार्यालयको काम सम्पादन गर्दै आएका छन् ।