दमक/ सुनसरीको कोसी गाउँपालिकामा शनिबार राति एम्बुलेन्स र ट्रक ठोक्किँदा ६ जनाको मृत्यु भएको छ । राति साढे १२ बजेतिर कोसी गाउँपालिकास्थित हरिपुरमा भएको सवारी दुर्घटनामा ६ जनाको घटनास्थलमै ज्यान गएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
मृत्यु हुनेमा त्रियुगा नगरपापलिका उदयपुरका राजेश दनुवार, दुर्गाधन राई, टेकेन्द्र राई, तुलाबहादुर राई, मुकेश राई र दिनेश राई रहेका छन् । उनीहरु विराटनगरबाट र शिवमाया राईको शव लिएर गाइघाट गइरहेका थिए । सबैको शव सुनसरी सदरमुकामस्थित इनरुवा अस्पतालमा पोष्टमार्टमका लागि पठाइएको छ । उनीहरुमध्ये ५ जना एकै परिवारका हुन् ।
हरिपुरमा पश्चिम जाँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्स विरजञ्जबाट पूर्वतर्फ आउँदै गरेको ना २ ख ९०८२ नम्बरको ट्रकसँग ठोक्किएको थियो ।
ट्रयाक्टर दुर्घट्नामा ज्यान गयो
पाँचथरको फिदिम नगरपालिका १४ भालुखोपस्थित भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुदा ट्याक्टर चालक १८ बर्षीय अविनास राईको घटनास्थलमै मृत्यु भएको छ । हिजो राती साढे ११ बजे भालुखोपबाट लुङरुपातर्फ जादै गरेको मे१त५७८१ नम्वरको ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २५मिटर तलखसेर दुर्घटना हुँदा राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
ढिस्कोले पुरिएर पाँच कामदारको मृत्यु
कास्कीको पोखरा उपमहानगरपालिका–२० मौजा बिसौनामा सडक स्तरोन्नती गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर पाँच जना कामदारको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गणेश ओली, खिमलाल बस्नेत, जीतबहादुर बस्नेत, जगेन्द्र बुढाथोकी र तोवन बस्नेत रहेका छन् । भलामबाट मौजा पुग्ने सडकखण्डको स्तरोन्नतीका लागि पर्खाल लगाउने क्रममा कामदारलाई माथिबाट खसेको ढिस्कोले पुरेको प्रहरीले जानकारी दिएको छ । दुईजनाले भने भागेर ज्यान जोगाएका छन् ।
पुरिएर मृत्यु हुनेहरु सल्यानवाट वाटो निर्माणको कामका लागि पोखरा आएका मजदुरहरु हुन् ।