दमक/ झापाको दमक ३ ढुकुरपानीमा सञ्चालित अक्सफोर्ड इङ्लिस स्कुल र लावण्य इन्टरनेशनलबीच शैक्षिक गुणस्तर बिकासका लागि महत्वपूर्ण साझेदारी पत्रमा हस्ताक्षर भएको छ ।
शैक्षिक क्षेत्रमा गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यका साथ अक्सफोर्ड इङ्लिस स्कुल र लावण्य इन्टरनेशनलबीच एक महत्वपूर्ण सहकार्यको औपचारिक सुरुवात भएको छ ।
गत वैशाख १० गतेदेखि लागू हुने गरी दुई संस्थाबीच औपचारिक सम्झौता भएको अक्सफोर्ड इङलिस् स्कूलका प्रिन्सीपल गंगादेव चौधरीले जानकारी दिए ।
यस किसिमको साझेदारीले विशेष गरी शिक्षकहरूको क्षमता विकास र विद्यार्थीहरूको सिकाइ अनुभवलाई आधुनिक बनाउन योगदान दिने अक्सफोर्डले जनाएको छ ।
सम्झौता अनुसार शिक्षकहरूलाई आधुनिक शिक्षण विधि र प्रविधिसँग परिचित गराउन नियमित तालिम तथा कार्यशालाहरू सञ्चालन गरिने, शैक्षिक परामर्श सेवामार्फत विद्यालयको समग्र व्यवस्थापकीय र प्राज्ञिक पक्षलाई थप सुदृढ बनाइने, प्रारम्भिक बाल शिक्षामा बालबालिकाको जग बलियो बनाउन विशेष बाल–मैत्री सहयोग कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
त्यस्तै अभिभावक सचेतना कार्यक्रममार्फत विद्यार्थीहरूको चौतर्फी विकासका लागि त्रिपक्षीय (शिक्षक–विद्यार्थी–अभिभावक) सम्बन्धलाई बलियो बनाइनेछ ।
घोषणा कार्यक्रममा बोल्दै दुवै संस्थाका प्रतिनिधिहरूले यस्तो सहकार्यले शिक्षा क्षेत्रमा नयाँ उर्जा थप्ने विश्वास व्यक्त गरेका छन् । हामीसँगै मिलेर शिक्षकहरूलाई सशक्त बनाउने, सिकाइ अनुभवलाई समृद्ध बनाउने र उज्ज्वल भविष्यका लागि सक्षम पुस्ता तयार गर्ने लक्ष्य राख्दछौं– सम्झौतापछि ति संस्थाहरुले संयुक्त विज्ञप्तिमार्फत भनेका छन् । यो सहकार्यले आगामी दिनमा विद्यालयको शैक्षिक गुणस्तरलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन र विद्यार्थीहरूलाई व्यवहारिक शिक्षा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको अक्सफोर्डका प्रिन्सीपल चौधरीको भनाई छ ।