झापा/ धरमपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न भएको छ। शिवसताक्षी–१ स्थित धरमपुरमा आयोजित कार्यक्रम अन्तर्गत रक्तदान, प्रहरी बिट हस्तान्तरण तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको हो।
स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा १३ महिला र २७ पुरुष गरी जम्मा ४० जनाले रक्तदान गरेका थिए।
त्यसैगरी, जेन्जी आन्दोलनका क्रममा तोडफोड भएको प्रहरी बिट पुनर्निर्माण गरी शिवसताक्षी–१ धरमपुर चौकमा इलाका प्रहरी कार्यालय झिलझिलेलाई हस्तान्तरण गरिएको छ। प्रहरी बिट नारायण प्रसाद पौडेललाई औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो।
कार्यक्रम सहकारीका अध्यक्ष कुमार संकरको अध्यक्षतामा सम्पन्न भएको हो भने प्रमुख अतिथिका रूपमा जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका सचिव बिनोद ढकालको उपस्थिति रहेको थियो। साथै संस्थाका पदाधिकारी, सञ्चालक सदस्य, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, उपसमिति संयोजक तथा सदस्यहरू र शेयर सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा दमकका इन्चार्ज ओमा श्रेष्ठ, प्रमुख सिद्धार्थ दाहाल लगायत प्राविधिक टोलीको उपस्थिति रहेको थियो।
यसै अवसरमा विभिन्न विधामा सम्मान समेत गरिएको छ। उत्कृष्ट बचतकर्तातर्फ भिमबहादुर थापा, फुलकुमारी चेम्जोङ्ग र कुमारी लिम्बुलाई सम्मान गरिएको छ भने असल ऋणीका रूपमा दीपक श्रेष्ठ, देवेन्द्रकुमार आङदेम्बे र शान्ता खापुङलाई सम्मान गरिएको सहकारीले जनाएको छ।

