दमक/  पर्यटन बर्ष २०२० नजिकिँदै जाँदा झापाको दमकबाट पूर्वी पहाडी जिल्ला पाँचथर र इलामको संगमस्थल पञ्चमी सम्मको पैदलयात्रा तथा आसपासका पर्यटकीय क्षेत्रहरुको अवलोकन भ्रमण गरिएको छ ।


पर्यटकीयस्थलहरुमा यतिबेला जताततै भिड लागेको भएपनि दमक र इलामको सीमा क्षेत्र फुइँकेबाट हिजोदेखि शुरु भएको यात्रा पेरुङगे टोड्के , कुसुण्डे , तारेभीर हुँदै पञ्चमी बजार र माङमालुक सम्म पुगेको हो । हिजो बुधबार शुरु भएको सो पदयात्राका क्रममा हिजोनै पदयात्रीको टोली होस्टे सम्म पुगेको थियो । यात्राका क्रममा माङसेबुङ गाउँपालिका भित्र पर्ने कुसुण्डे, र जोसमनी टोलमा स्थानीयहरुले ठुलो संख्यामा उपस्थित भएर पदयात्रीहरुको स्वागत गरेका थिए ।

होटल व्यवसायी संघको मुख्य आयोजना र स्थानीय सरकार तथा सामाजिक , व्यवसायिक र सहकारी संस्थाहरुको सहयोगमा भएको करीब ९ घण्टा लामो पैदलयात्रामा २६१ जना सहभागि भएका थिए । पैदलयात्रीहरुलाई माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इधिङ्गो, उपाध्यक्ष संगीता सुब्बा , माङसेबुङ ६ का वडाध्यक्ष प्रदिप राई, लगायत जनप्रतिनिधि, स्थानीय व्यवसायी, कलाकार तथा सर्वसाधारणहरुले ठाउँ ठाउँमा स्वागत गरेका थिए ।


पैदलयात्राको शुभारम्भमा दमक चोकमा भएको सक्षिंप्त कार्यक्रममा प्रदेश १ का पर्यटन मन्त्री जगदिश कुसियात र दमक नगर प्रमुख रोमनाथ ओलीले शुभकामना दिनु भएको थियो । होटल व्यवसायी संघका अध्यक्ष राजन दंगालको अध्यक्षता रहेको थियो । सो पदयात्राले मेटिँदै गएको बर्षौ पुरानो पदमार्गको खोजी र संरक्षणमा टेवा पुरयाउनुका साथै देशकै पर्यटकीय विकासमा योगदान दिन सक्ने विश्वास गरिएको पदयात्रा टोलीको स्वागतसहित व्यवस्थापनका लागि खटिनु भएका माङसेबुङका स्थानीय सामाजिक तथा राजनीतिक व्यक्तित्व हेमन्त राई बताउनु हुन्छ ।


पदयात्रामा सहभागि दमक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रकाश प्रसाइँले ठुलो संख्यामा पदयात्रीहरु एकसाथ हिंडनुनै एउटा ऐतिहासिक क्षण भएको र यसले पहाड र तराईबासीका बीचमा भावनात्मक सम्बन्ध समेत बढाएको बताउनु भयो ।

 

Facebook Comments Box