विष्णु पौडेल
दमक/झापाको ग्रामिण क्षेत्रका अधिकांश विद्यालयका बालबालिकाहरुले शुद्ध खानेपानीको उपभोग गर्न पाएका छैनन् । सरकारले सबै नागरिकहरुमा शुद्ध खानेपानीको पहुँच पुरयाउने घोषणा गरेपनि जिल्लाको गौरीगञ्ज गाउँपालिका र शिवसताक्षी नगरका अधिकांश सामुदायिक विद्यालयका बालबालिकाहरु ट्यूबेलको आर्सेनिक युक्त पानी पिउन बाध्य रहेका हुन् ।

गौरीगञ्ज ३ स्थित गौरीगञ्ज प्राविको कार्यालयमा पिउने प्रयोजनका लागि बोतलमा भरिएको पानी ।

गौरीगञ्ज ३ स्थित गौरीगञ्ज प्राथमिक विद्यालयका प्रधानाध्यापक मोतिलाल ताजपुरीयाले खानेपानी योजना सञ्चालनमा आएको भएपनि विद्यालयले आर्थिक स्रोतको अभावमा विद्यालय परिसरमा खानेपानीको धारा जडान गर्न नसकेको बताउनु भयो । २०२५ सालमा स्थापित सो विद्यालयमा अहिले २ सय २५ भन्दा बढी बालबालिकाहरु अध्ययनरत छन् । प्रधानाध्यापक ताजपुरीयाले शिक्षक तथा बालबालिकाहरुले विद्यालयमा ट्यूबेलको पानी पिउने गरेको बताउनु भयो । शिवसताक्षी ४ सालमारास्थित पाथीभरा आधारभुत विद्यालयका बालबालिकाहरु पनि शुद्ध पिउने पानीको अभाव झेलिरहेका छन् ।

सो विद्यालयका प्रधानाध्यापक कुञ्जिबिहारी ताजपुरीयाले पनि करीब ७/८ बर्ष अघिनै विद्यालयमा खानेपानीको धारा जडान भएपनि जनतास्थित पुरानो खानेपानी आयोजना एकाएक बन्द हुँदा पिउने पानीका लागि ट्युबेलको भर पर्नुपर्ने बाध्यता रहेको बताउनु भयो । पूर्वपश्चीम राजमार्गसंगै जोडिएको शिवसताक्षी नगरपालिका भित्रैका बालबालिकाहरुले शुद्ध पिउने पानी प्रयोग गर्न नपाउँदा बालबालिकाहरु स्वास्थ्यका दृष्टिकोणबाट जोखिममा रहेका हुन् । त्यसभेगका अधिकांश बालबालिकाहरुले विद्यालयमा खानेपानीसंगै चर्पीको समेत अभाव झेलिरहेका छन् ।

पाथीभरा आविमा जीर्ण बनेको शौचालय

पाथीभरा आधारभुत विद्यालयमा रहेको खानेपानीको बन्द धारा । यो धार जडान गरेयता पानी आपूर्ति भएको छैन । 

पाथीभरा आधारभुत विद्यालयमा यस अघि निर्माण गरिएका पक्की शौचालय नियमित मर्मत सम्भार र संरक्षणको अभावमा भत्किएर दुर्गन्धित बनेका छन् । धारामा पानी नआउने समस्याका कारण शौचालय व्यवस्थित हुन नसकेको गुनासो विद्यालयका शिक्षकहरुको छ । राज्यले खानेपानीलाई मौलिक हकका रुपमा संविधानमा नै किटान गरिसकेपछि हरेक सामुदायिक विद्यालयका बालबालिकाहरुका लागि खानेपानीको व्यवस्था गर्नु अनिवार्य हुने नेपाल विद्यार्थी संघ झापाका उपसभापति भवानी काफ्ले बताउनु हुन्छ ।

Facebook Comments Box