दमक/झापाको दमकस्थित पश्चीम बस स्टेण्ड नजिकै गोरखा डिपार्टमेन्ट स्टोरको प्राङगणमा दमकका युवाहरुले आज बुधबारदेखि एउटा सकारात्मक अभियान सञ्चालन गरेका छन् । उनीहरुले भोकाएका मानिसलाई शुद्ध खाना खुवाउने र खाना खाएका ग्राहकहरुबाट संकलित रकम मिर्गौलाको समस्याबाट पीडित २५ बर्षिय एक युवाको उपचारका लागि खर्चिने अभियान चलाएका हुन् ।


इलाम चुलाचुली ५ का २५ बर्षिय शुकराज लिम्बुका दुवै मिर्गौला खराब भएपछि उपचारमा आर्थिक सहयोग जुटाउने उदेश्यले ५ रुपैयाँमा एक छाना भात खुवाउने अभियान चलाइएको हो । अभियानको आज लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ एवानको नेतृत्वमा समेत रहनु भएका लोकतान्त्रिक व्यवसायी संघ दमकका अध्यक्ष बबरजंग थापा किरणले थालनी गर्नुभएको हो । सो स्थानमा युवाहरुले उपलब्ध गराउने एक छाक भात अर्थात खानाको मुल्य मात्रै रु ५ राखिएको छ । ५ रुपैयाँ खानाको मुल्य तोकिएपनि सहयोगी मन भएका धेरैले तोकिएको मुल्यसंगै विरामी शुकराजको उपचारका लागि सहयोगी हात अघि बढाएमा यो अभियानको प्रभावकारिता बढ्ने थापाले बताउनु भयो ।

गोरखा गहना भण्डार प्रालिका सञ्चालक समेत रहनु भएका लायन्सकर्मी हेमसिंह अधिकारी समाजमा सहयोगी मनको खाँचो रहेनछ भन्ने उदाहरण आज अभियानको पहिलो दिनमै देखिएको सहभागिताले प्रष्ट्याएको बताउनु हुन्छ । सो अभियानमा दमक १ निवासी कुमार राईसंगै लक्ष्मण प्रधान, विवेक श्रेष्ठ , युवन गुरुङ , युवराज गजमेर, सत्यनारायण चौधरी, टोसी आनन्द र सोनि राई सक्रियतापूर्वक जुट्नु भएको छ ।

सहयोगी संस्था र दाताहरुले खानाका लागि आवश्यक पर्ने सामाग्री उपलब्ध गराउने र खाना खान आउने ग्राहकले दिएको सहयोग रकमले विरामीको उपचारमा धेर थोर भएपनि सहयोग पुग्ने अपेक्षा अभियानकर्ताहरुको छ । अभियानकर्ताहरुले आजदेखि शुरु गरेको अभियानमा सहभागितालाई हेरेर निरन्तरता दिने सोच बनाएका छन् । उनीहरुले सके सम्म शनिबार सातामा एक पटक मासु खाना प्रति छाक रु १० मा उपलब्ध गराएर अभियानलाई थप रोचक बनाउने योजना रहेको बताए । बिहिबार पहिलो दिन सो अभियानमा लगभग ५०० जनाले सहभागिता जनाएका अनुमान छ ।

Facebook Comments Box