तेह्रथुम/ सरकार यतिबेला तेह्रथुमको चुहानडाँडामा हवाई मैदान बनाउने योजनामा छ । सर्वसाधारणलाई तराई तथा सोझै काठमाडौं उपत्यकासंगको सम्पर्कका लागि हवाईमैदानको आवश्यकता सरकारले जसरी महसुस गरेको छ त्यसैगरि स्थानीय नागरिकहरुले यहाँको विकासका लागि पर्यटकीय क्षेत्रहरुको संरक्षण खोजिरहेका छन् ।

संक्रान्ति बजारबाट करिब एक घण्टा लामो पैदल दुरीमा पर्ने तत्कालिन संक्रान्ति र थोक्लुङ गाविसको सिमानामा पर्ने साविक थोक्लुङ गाविस वडा नं २ तथा हालको आठराई गाउँपालिका वडा नं ७ स्थित रमिते सामुदायिक वन भित्र पर्यटक तान्ने तथा नेपालको इतिहास झल्काउने नेपालको आकृति ( नक्सा)संग दुरुस्त मिल्ने आकारको ढुंगाको पहरो छ । यसलाई स्थानीयले नेपाल पहरो भन्ने गरेका छन् ।
प्राकृतिक रुपमा नै यो पहरो नेपालको नक्सा आकारको छ । यो पहरोमाथि उभिएर नियाल्दा सेता अग्ला हिमालहरु, संक्रान्ति बजार, बजारमाथि रहेको पाथीभरा मन्दिर र डाँडागाउँको रमणीय दृश्य देख्न सकिन्छ । यहि पहरोबाट नजिकै ऐतिहासिक महत्व बोकेको त्यहाँका बासिन्दाले विश्वास राख्ने देवी भगवतीको मन्दिर छ । यो मन्दिरमा पुगेर गरिएको भाकल पूरा हुने विश्वास स्थानीयहरुमा छ । त्यसैले पनि यो क्षेत्र धार्मिक तथा ऐतिहासिक, जैविक विविधतायुक्त पर्यटकीय क्षेत्र हुन सक्नेमा स्थानीयहरु आशावादी देखिएका हुन् ।
सो क्षेत्रका बासिन्दाले करिब दश बर्ष अघिनै नेपाल पहरा संरक्षण सामाज समिति समेत गठन गरेका थिए । पछिल्लो समय स्थानीयहरु पहाडबाट मधेस झर्ने क्रम बढेसंगै गाउँ रित्तिदै जाँदा यस किसिमको ऐतिहासिक महत्व राख्ने प्राकृतिक सम्पदाको संरक्षण होला कि नहोला भन्ने पिरलो छ ।
यो पहरो जंगलका बीचमा भएपनि जंगलबीचको पैदलमार्ग भएर पुग्न नजिकै भएकाले यो आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्ने गतिलो माध्यम बन्न सक्नेमा आशावादी हुनुहुन्छ २०/२५ बर्ष अघि यो पहरो देखेर पहिचान गर्ने स्थानीय काफ्ले परिवारका यामनाथ काफ्ले ।
काफ्ले भन्नुहुन्छ –पर्यटकीय विकासका लागि गतिलो आधार यो पहरो हुन सक्छ । तर राज्यको निकायलाई घचघच्याउनु आवश्यक रहेको काफ्लेको बुझाई छ । नेपाल पहरा प्रचार प्रसारको अभावमा ओझलमा परेको भन्दै स्थानीयहरु पछिल्लो समय त्यसको संरक्षणसंगै प्रचार प्रसारमा पनि जुटेका छन् ।
सरकारले पर्यटन बर्षका रुपमा सन २०२० लाई मनाइरहेका बेला यस किसिमका ऐतिहासिक महत्व राख्ने सम्पदाको रुपमा रहेको नेपालको नक्सा अंकित पहरोको महत्व बढाउन लागिपरेका छन स्थानीयहरु । स्थानिय ग्रमिण सडकदेखि करीव १५ मिनेट पैदल यात्रा गरेपछि पुग्न सकिने भएकाले पनि यो पर्यटकीय आकर्षणको केन्द्र बन्ने विश्वासका साथ स्थानीय सरकारले यसको विस्तृत अध्ययन र सर्वेक्षण गर्ने गरी गुरुयोजनामा राखेको पहरोस्थल आठराई ७ का वडाध्यक्ष रोहित कन्दङवा बताउनु हुन्छ ।
जैविक बिविधताले भरिएको यस क्षेत्रमा सयौं बर्ष पुराना ढुंगाको धारा पनि छ । त्यस क्षेत्रका टाढा टाढा सम्मका मानिसहरुले सयौं बर्ष सम्म पानी खाने धाराका रुपमा प्रयोग गर्ने गरिएको यहाँ प्राकृतिक रुपमै निस्किने गरेको पानीको मुहानलाई व्यवस्थित गरिएको छ । जसलाई काफ्ले धारो भनिन्छ । धार्मिक तथा शैक्षिक क्षेत्रमा सो ठाउँमा विशिष्ट योगदान गर्नुभएका स्व. भगिरथ काफ्लेको स्वामित्वमा रहेको जग्गामा यो धारो भएका कारण यसलाई काफ्ले धारो भनिने गरेको हो ।