दमक/ आज २१ फागुन अर्थात नेपाली कम्युनिष्ट आन्दोलनमा पाँच जना सहिदहरुले सहादत प्राप्त गरेको दिन । सुखानी सहिद दिवस ।
पञ्चायती व्यवस्थाका विरुद्ध तत्कालिन मालेले चालएको झापा विद्रोहका क्रममा ५ जना कम्युनिष्ट नेताहरुलाई २०२९ साल फागुन २१ गते गोलि हानी हत्या गरिएको थियो । हरेक वर्ष कम्युनिष्ट आस्थावानहरुले कम्युनिष्ट आन्दोलनमा मुलुककै महत्वपूर्ण इतिहास बोकेको सुखानी काण्डमा मारिएका सहिदहरुलाई सम्झिने गरेका छन् । ४७ वर्षअघि कम्युनिष्ट आन्दोलनका क्रममा पाँचजनाले सहादत प्राप्त गरेको घटना ‘सुखानी काण्ड’ ले देशभर परिचित रहेको छ ।

आजको दिन तत्कालिन माले हुँदै नेकपा एमाले, नेकपा माओवादी केन्द्र हुँदै हालको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्मले सुखानी सहिद स्मृति दिवसका रुपमा मनाउँदै आएका छन् ।
झापा बिद्रोहमा लागेकै कारण झापा र ईलामको संगम स्थलमा रहेको वन क्षेत्र सुखानीमा कम्युनिष्ट आन्दोलनका अगुवाहरूलाई प्रहरीले गोली हानी हत्या गरेको थियो ।
झापा कारागारबाट ईलाम सार्ने बहाना बनाई २०२९ फागुन २१ गते झापा विद्रोहका नेताहरु रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, बिरेन राजवंशी र नारायण श्रेष्ठ प्रहरीद्वारा मारिएका थिए । उनीहरुको सहादत स्थल ईलाम र झापाको संगम स्थल सुखानी नेपाली कम्युनिष्टहरुको श्रद्धास्थलको रुपमा रहँदै आएको छ ।
सम्झनामा माल्यार्पण, औपचारिक कार्यक्रम गरिएन
यस बर्षको सुखानी सहिद दिवसको अवसर पारेर नेकपा झापाको आयोजनामा हुने भनिएकोे बृहत औपचारिक कार्यक्रम कोरोना भाइरसको संत्रासका कारण स्थागित भएपछि अनौपचारिक रुपमै सहिदहरुको सम्झना गरिएको छ ।
नेकपा झापाका अध्यक्ष चिन्तन पाठकका अनुसार नेकपाको पूर्व निर्धारित कार्यक्रम अनुसार आज सुखानीमा नेकपाका शीर्ष नेताहरुले सम्बोधन गर्ने गरि सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रमको तयारी भएको थियो ।
कोरोनाकै कारण औपचारिक कार्यक्रम समेत नगरी अनौपचारिक रुपमा शहिदहरुको शालिकमा माल्यार्पण मात्र गरिएको अध्यक्ष पाठकले जानकारी दिए ।
सरकारको निर्णय तथा पार्टी केन्द्रीय तथा प्रदेश कमिटिको निर्देशन अनुसार आ–आफ्नो ढंगले उपस्थित भएर शहिदको सालिकमा माल्यार्पण गर्यौं ।’ पाठकले भने
शहिदको प्रति श्रद्धाञ्जली अर्पण गर्न झापा आन्दोलनका शहिदहरुहरुले शहादत प्राप्त गरेको शहादतस्थल सुखानीमा पार्टीका केन्द्रीय, प्रदेश तथा जिल्ला नेताहरु केन्द्रीय सदस्य धर्मशीला चापागाँई, १ नं. प्रदेश अध्यक्ष देवराज घिमिरे, झापा जिल्ला अध्यक्ष चिन्तन पाठक, तिलकुमार मेन्याङ्वोसहित नेता कार्यकर्ता सुखानी पुगेका बताइएको छ ।
औपचारिक कार्यक्रम नहुने भएपछि झापा आन्दोलनका क्रममा सहादत प्राप्त ११ जना शहिदहरुको शालिक राखिएको गरामनीमा पनि अनौपचारिक रुपमा शहिदहरुको सम्झना गरिएको छ । नेकपाको स्थानीय गाउँ कमिटिका पदाधिकारी तथा कार्यकर्ताले शहिदप्रति श्रद्धाञ्जली गरेको अध्यक्ष पाठकले जानकारी दिए ।
ओली र मैनाली अस्पतालमा, घिमिरेको अन्त्येष्टी गरिँदै
प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी ओली झापा विद्रोहको अगुवा मध्ये एक हुन् भने नेकपा मालेका महासचिव सीपी मैनाली अर्का नायक हुन् ।
संयोग यस बर्षको २१ फागुनमा ओली र मैनाली दुवै अस्पतालको बेडमा छन् । प्रधानमन्त्री ओलीको आजकै दिन दोश्रो पटक मिर्गौला प्रत्यारोपण गरिँदैछ भने केहि दिन अघि सवारी दुर्घटनामा परेका नेकपा मालेका महासचिव मैनालीपनि केहि दिन अघि सवारी दुर्घटनामा परेर उपचाररत छन्। यता झापा विद्रोहका क्रममा जेल जिवन विताएका र संविधान सभा सदस्यमा झापा १ बाट निर्वाचित सभासद धर्मप्रसाद घिमिरेको हिजो मात्रै भारतको बागडोगोरामा दुर्घटनामा परी मृत्यु भएको छ । घिमिरेको अन्त्येष्टी पनि आजनै गरिँदैछ ।