दमक/  भद्रपुरस्थित चन्द्रगढी नागरिक उडयन कार्यालय परिसरमा बिहीबारदेखि कोरोना भाइरस परामर्श तथा प्राथमिक परीक्षण कक्ष स्थापना गरिएको छ । परीक्षणका लागि थर्मल गनको प्रयोग गरिने गरेको बताइएको छ । स्वास्थ्यकर्मीसहितको टोलीले सो गनका माध्यमबाट त्यस्तो परीक्षण गर्नेछ ।
त्यस्तै खुल्ला सीमाको मुख्य प्रवेशद्वार काँकडभिट्टा, भद्रपुर र गौरीगञ्जमा कोरोना भाइरस परामर्श तथा प्राथमिक परीक्षण कक्ष स्थापना गर्ने स्थानीय प्रशासनले निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले काँकडभिट्टामा मेचीनगर नगरपालिका र मेची भन्सार कार्यालय समन्वयमा परीक्षण कक्ष स्थापना भइसकेको बताउनु भयो ।

गौरीगञ्जमा पनि परीक्षण कक्ष स्थापनाका लागि स्थानीय तह र स्वास्थ्यकर्मीलाई निर्देशन दिइसकिएको प्रमुख जिल्ला अधिकारी रानाले जानकारी दिनु भयो । , उहाँले भन्नु भयो , ‘आजभोलिमै त्यहाँ पनि परीक्षण कक्ष स्थापना हुन्छ ।’
प्रशासन कार्यालय झापाले मेची अस्पतालमा कोरोना संक्रमित बिरामीका लागि छुट्टै आइसोलेसन वार्ड स्थापना गर्न निर्णय गरे पनि अहिलेसम्म मेचीमा आइसोलेसन वार्ड छैन । झापामा अहिलेसम्म कोरोना संक्रमित बिरामी फेला नपरेको बताउँदै अस्पतालका मेसु डा. पिताम्बर ठाकुरले भन्नु भयो ‘त्यस्तो बिरामीमाथि शंखा लागे तत्काल धरान रेर्फर गर्दै आइरहेका छौ ।’ अस्पतालमा छुट्टै आइसोलेसन वार्ड स्थापनाका लागि छुट्टै स्वास्थ्य सामग्री तथा उपकरण उपलब्ध गराइनसकेको उहाँले बताउनु भयो । प्रदेश १ का सामाजिक विकास मन्त्रालयले भने बुधवार झापाको मेची र बिएण्डसीमा आइसोलेसन वार्ड स्थापनाका लागि निर्णय गरेको थियो ।

विराटनगरमा हात धुने
विराटनगर महानगरपालिकाले भारतको सीमा क्षेत्रमा साबुन पानीले हात मिचिमिची धुने अभियान सञ्चालन गरेको छ ।
भारतीय रेल्वेको स्थानीय कर्मचारीको समन्वयमा सचेतना तथा सर्तकता अभियान सञ्चालन गरिएको महानगरपालिकाका कार्यवाहक प्रमुख इन्दिरा कार्कीले बताउनुभयो । उहाँले सचेतनाका लागि सम्पूर्ण पूर्वतयारी गर्न १९ वटा वडाका अध्यक्ष सम्मिलित समन्वय टोली गठन गरिएको जानकारी दिनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीको नेतृत्वमा गठन गरिएको टोलीमा नगरका सबै महाशाखाका प्रमुखहरु रहनुभएको छ ।
यो रोगको मुख्य लक्षणमा १०४ डिग्री वा सो भन्दा बढी ज्वारो आउनु र छाती भारी हुनु मुख्य लक्षण रहेको नगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताउनुभयो । त्यस्तो अवस्थामा पारासिटामोल र टिनिडाजोल औषधि प्रयोग गर्न सकिनेछ ।

Facebook Comments Box