सोल — कोरोना भाइरस (कोभिड–१९) को प्रकोपबीच दक्षिण कोरियामा संसदीय चुनाव सम्पन्न भएको छ । निर्वाचन अधिकारीका अनुसार बुधबारको मतदानमा करिब ६६.२ प्रतिशत मत खसेको छ ।

जुन १६ वर्षयताकै उच्च भएको बीबीसीले जनाएको छ। सन् २०१६ को संसदीय चुनावमा ५८ प्रतिशत मत खसेको थियो।

सामाजिक दूरी कायम गर्दै मास्क लगाएर मत केन्द्रहरूमा मतदाताहरू उपस्थित भएका थिए। स्वास्थ्यकर्मीले उनीहरूको शरीरको तापक्रम नापेका थिए। त्यसपछि उनीहरूलाई हातमा स्यानिटाइजर दलेर प्लास्टिकको पञ्जा लगाउन भनिएको थियो। त्यति गरेपछि मात्रै निर्वाचन अधिकारीहरूले मतदातलाई मतपत्र दिँदै बुथतर्फ जान दिएका थिए।

तीन सय सदस्यीय राष्ट्रिय सभाको चुनावलाई राष्ट्रपति मुन जाए–इनको जनमत संग्रहका रूपमा हेरिएको छ। चुनावमा ३५ पार्टी सहभागी भए पनि सत्तारूढ डेमोक्र्याटिक र विपक्षी युनाइटेड फ्युचर पार्टीबीच प्रमुख प्रतिस्पर्धा हुने बताइएको छ।

कोरियाली मतदाताहरू विचारधारा, पुस्तागत मान्यता तथा क्षेत्रीयताका आधारमा बाँडिएका भए पनि चुनावी सर्वेक्षणहरूले राष्ट्रपति मुनको दलले स्पष्ट बहुमत ल्याउने देखाएका छन्। सर्वेक्षणहरूमा मुनको दलले १ सय ५५ देखि १।य ७८ सिट जित्ने देखिएको छ।

दक्षिण कोरियाली इतिहासमा चुनाव रोकिएको कुनै घटना छैन। सन् १९५२ मा कोरियाली युद्धका समयमा पनि दक्षिण कोरियामा राष्ट्रपतीय चुनाव सम्पन्न भएको थियो। प्रत्येक ४ वर्षमा ३ सय सिटका लागि हुने चुनावमा २ सय ५३ जना विभिन्न जिल्लाबाट प्रत्यक्ष निर्वाचित हुने व्यवस्था छ। ४७ स्थान समानुपातिक प्रतिनिधित्वका आधार चयन हुन्छन्।

चीन, युरोप तथा अमेरिकामा कोभिड–१९ ले निकै असर पुर्‍याइरहेका भए पनि चुनावका लागि गरिएको तयारी र सुरक्षा उपायका कारण ढुक्क देखिन्थे। ‘हामी अहिले कठिन मोडमा छौं, तर कोरोना भाइरस र राजनीति दुई भिन्न कुरा हुन्,’ राजधानी सोलको मतकेन्द्रमा भेटिएका ५७ वर्षीय ली कुमले भने।

सोलकै ४५ वर्षीया चुङ युन–योङले लामो लाइनमा बस्नु नपरोस् भनेर बिहानै मतकेन्द्रमा आएको बताए। ‘म कोरोना भाइरसबाट निकै चिन्तित थिएँ,’ उनले भने, ‘तर अधिकारीहरूले मेरो शरीरको तापक्रम नापे, स्यानिटाइजर र पञ्जा दिए यहाँ मैले सोचेभन्दा राम्रो व्यवस्था रहेछ।’

मतकेन्द्रहरू रहेका सरकारी कार्यालय तथा विद्यालयहरूमा निकै लामा लाइन थिए। करिब २६ प्रतिशत अर्थात् १ करोड १० लाख मतदाताले यसअघि नै मत दिइसकेका थिए। सरकारी अधिकारीहरूले सेल्फ क्वारेन्टाइनमा बसेका र कोरोना संक्रमित मतदातालाई चुनावअघि नै मोबाइलबाट मतदान गर्न सक्ने व्यवस्था गरेका थिए। ज्वरो नआएका वा श्वास प्रश्वासमा समस्या नदेखिएका व्यक्तिलाई साँझ ५ देखि ७ बजेसम्म मत दिन केन्द्रमा जान सक्ने व्यवस्था मिलाइएको थियो।

क्वारेन्टाइनमा रहेका मतदातालाई ट्र्याकिङ एप्सको सहयोगमा अनुगमन गर्ने वा अर्को व्यक्तिको साथमा मत केन्द्रसम्म ल्याउने व्यवस्था गरिएको छ। यस्ता मतदातालाई एकअर्कासँग कम्तीमा २ मिटरको दूरीमा राखिने प्रबन्ध गरिएको थियो। अस्पतालमा उपचाररत व्यक्तिले भने हुलाकमार्फत मतदान गरेका छन्।

दक्षिण कोरियामा १० हजार ५९० जनाभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ। कम्तीमा २ सय २५ जनाको मृत्यु भइसकेको छ। केही सातायता नयाँ संक्रमितको संख्या घटेको जनाइएको छ। तस्बिर : रोयटर्स

Facebook Comments Box