नेपालमा व्यावसायिक भिसामा बसेका तर शंकास्पद गतिविधिमा संलग्न चार जना चिनियाँ नागरिकलाई अध्यागमन विभागले आज नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएकामध्ये एक जना महिला र तीन जना पुरुष रहेका छन्। काठमाडौंको सोह्रखुट्टेस्थित मिलिजुली चोक, म्हैपीबाट उनीहरूलाई पक्राउ गरिएको हो। यो स्थानलाई ठूलो संख्यामा चिनियाँ नागरिकहरू बसोबास गर्ने भएकाले ‘चाइनिज हाउजिङ’ को नामले पनि चिनिन्छ।

प्रारम्भिक अनुसन्धानका अनुसार, यी चिनियाँ नागरिकहरूले व्यावसायिक भिसा लिए पनि आफ्नो व्यवसाय, कम्पनीको नाम वा सोसम्बन्धी कुनै जानकारी दिन सकेनन्। उनीहरूले आर्थिक रूपमा कमजोर नेपाली युवतीहरूलाई जागिरको प्रलोभन देखाएर सामाजिक सञ्जाल टिकटकमा भिडियो बनाउन लगाउने र त्यसमार्फत अन्य चिनियाँहरूसँग साथी बनाई विवाह गराउने गरेको खुलेको छ। यसका साथै, केही नेपाली युवतीहरूलाई चीनमा लगेर विवाह गर्ने भन्दै चीन नै पठाएको जानकारी पनि प्राप्त भएको छ।

उनीहरूले म्हैपीमा घर भाडामा लिएर नेपाली युवतीहरूलाई राख्ने र नेपाललाई केन्द्र बनाएर विभिन्न मुलुकमा उनीहरूलाई समेत लिएर भ्रमण गर्ने गरेको अनुसन्धानबाट खुलेको छ। नियन्त्रणमा लिइएकामध्ये दुई जना विगत १० वर्षदेखि नेपालमा पर्यटक, अध्ययन र व्यावसायिक भिसा लिएर बस्दै आएका थिए। भिसा जाँच गर्ने क्रममा उनीहरू राहदानी र भिसा देखाउन असमर्थ भएका थिए भने अध्यागमनका कर्मचारी र सुरक्षाकर्मीहरूलाई दुर्व्यवहार समेत गरेका थिए।

अध्यागमन विभागका अनुसार, अध्यागमन ऐन, २०४९ को दफा ६ मा विदेशीको प्रवेश, उपस्थिति र प्रस्थानसँग सम्बन्धित लिखतहरू अध्यागमन अधिकृत वा महानिर्देशकले तोकेको कर्मचारीले जुनसुकै स्थान र समयमा जाँच गर्न तथा कब्जामा लिन सक्ने व्यवस्था छ। त्यस्तै, अध्यागमन नियमावली, २०५१ मा विदेशीले जुन उद्देश्यका लागि भिसा प्राप्त गरेको हो, सोबाहेक अन्य काम गर्न नपाइने व्यवस्था गरिएको छ। यसरी गैरकानूनी रूपमा बसेका वा शंकास्पद गतिविधिमा संलग्न विदेशीहरूलाई अनुसन्धानपछि महानिर्देशकले ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने र अवधि तोकी वा नतोकी नेपाल पुनः प्रवेश गर्न नपाउने गरी डिपोर्ट गर्ने कानूनी प्रावधान छ।

विभागले नेपालमा भिसाको उद्देश्यविपरीत बसेका वा शंकास्पद क्रियाकलापमा संलग्न विदेशी नागरिकहरूलाई नियन्त्रणमा लिएर अध्यागमन कानूनबमोजिम कारबाही गर्ने नीति अवलम्बन गरेको छ। यो घटनाले नेपालमा विदेशीहरूको गतिविधिमाथि थप निगरानी बढाउने अपेक्षा गरिएको छ। थप अनुसन्धान जारी रहेको विभागले जनाएको छ।

Facebook Comments Box