दमक/ झापाको दमक नगरपालिकाले आगामी आर्थिक बर्ष २०७७/०७८ को बजेट तथा कार्यक्रम निर्माणका सिलसिलामा आज नगरपालिकाको सभाकक्षमा सर्वदलीय सर्वपक्षीय छलफलको आयोजना गरेको छ ।
नगरपालिकाका प्रमुख रोमनाथ ओलीको अध्यक्षता र प्रदेश सांसद अर्जुन राईको प्रमुख आतिथ्यमा भईरहेको छलफलमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश तिम्सिनाले चालू आर्थिक बर्षको हाल सम्मका योजना तथा कार्यक्रमहरुको प्रगतिका बिषयमा जानकारी गराउँदै आगामी बर्षका लागि समेत केही महत्वपूर्ण योजना तथा कार्यक्रमहरु छलफलका लागि प्रस्तुत गर्नु भएको छ ।

बिहान करिब ८ बजेदेखि शुरु भएको छलफलमा गत स्थानीय तह निर्वाचनमा नगर प्रमुखका प्रत्यासी रहेका राप्रपाका राम थापा, नेपाली कांग्रेसका ढुण्डीराज भण्डारी र तत्कालिन नेकपा माओवादी केन्द्र हाल नेपाल कम्युनिष्ट पार्टीका नेता गगन पुरीसहित आदिवासी जनजाती महासंघ दमकका पूर्व अध्यक्ष मोहन धिमाल, कांग्रेसका महासमिति सदस्य शेर बहादुर भट्टराई, नगरसभापति रोशन विष्ट लगायतले सुझावसहित चालू बर्षको बजेट तथा कार्यक्रमहरुका बिषयमा टिप्पणी समेत राखेका छन ।
नगरपालिकामा जनप्रतिनिधिहरुले राजनीतिक आस्थाका आधारमा कतिपय कामहरु गरेको भन्दै राप्रपा नेता थापा र कांग्रेस नेता भण्डारीले आलोचना गरे । दमकमा फोहोर व्यवस्थापन सम्बन्धि निजी क्षेत्रको परियोजनामा नगरपालिकाले राज्य कोषको १७ करोड रुपैयाँ दिएको भन्दै राम थापाले प्रश्न गरे – के हो निजी क्षेत्र भनेको ? निजी क्षेत्रका नाममा आफनो पार्टीको कार्यकर्ताहरुलाई सरकारी बजेट दिइएको हो भने त्यो सरासर अन्याय हो । नेता थापाले दमकको सामुदायिक विद्यालय र दमक बहुमुखी क्याम्पस नगरपालिकाको प्राथमकितामा नपर्नु दुखद भएको बताए ।


कांग्रेस नेता शेरबहादुर भट्टराईले विगतमा राजनीतिक सन्तुलन मिलाएर नगरको विकासमा काम गरिएको तर अहिले नगरपालिकाको नेतृत्वले एक्लौटी रुपमा शिक्षा क्षेत्रमा हस्तक्षेप गर्न खोजेको टिप्पणी गर्नुभयो ।
नेकपा नेता पुरीले बजेट तथा कार्यक्रम राम्रो रहेको चर्चा आफूले गरिरहनु नपर्ने भन्दै दिपीनि, खरखरे र बेतेनी खोलाको सौन्दर्यकरणको योजनामा जोड दिए । आदिवासी जनजाती नेता धिमालले प्रथम नागरिक धिमाल भनिए पनि उनीहरुको जिवनस्तर उकास्ने कार्यक्रमहरुको खाँचो औल्याउँदै दमकको आदिवासी संग्राहालय निर्माणको योजना कहाँ पुग्यो ? भनि प्रश्न गरे ।

Facebook Comments Box