दमक/विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ ले छिमेकी मुलुक भारत र नेपालमा भयावह रुप लिन थालेको छ ।

भारतमा एकैदिन ७ सय ८ जनाको ज्यान गएसँगै भारतमा कोरोनाका कारण ज्यान जानेको सङ्ख्या ३२ हजार ७ सय ७१ पुगेको छ । झण्डै ५० हजार जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । योसहित भारतमा कुल सङ्क्रमितको सङ्ख्या १४ लाख भन्दामाथि पुगेको छ ।

भारतसंग खुल्ला सीमा रहेको नेपालमा बोर्डर सील कायमै रहेको भएपनि भारतबाट अन्य मुलुकबाट भारत हुँदै नेपाल प्रवेश गर्ने नेपालीको संख्या धेरै हुँदा त्यसको प्रत्यक्ष प्रभाव समुदायमा परेको छ । नेपालमा अहिले सम्म कोरोना संक्रमित ४६ जनाको ज्यान गएको छ भने १८ हजार ६१३ जना संक्रमित भएका छन् । भारतसंग जोडिएका पूर्व दुई ठुला सहर काँकरभिट्टा र विराटनगरमा कोरोनाका कारण प्रहरी र स्वास्थ्यकर्मी धेरै प्रभावित भएका छन् ।
काँकरभिट्टामा सशस्त्र प्रहरी र विराटनगरमा जनपथ प्रहरी १९ सहित २५ जना संक्रमित भएका छन् । विराट नर्सिङ होममा कार्यरत ४ जना नर्सहरु समेत संक्रमित भएका छन् । यससंगै विराटनगरमा सेमि लक डाउनको अवस्था छ ।

विराटनगर महानगरपालिकाले अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरु आजैदेखि बन्द गरेको छ । समुदायमा कोरोनाको संक्रमण देखिएपनि सरकारले यस अघि घोषणा गरेको लक डाउन अन्त्य भएको सार्वजनिक गरिसकेको छ । जनस्तरमा भने लकडाउन खुलेसंगै हाट बजार , सार्वजनिक तथा निजी यातायात आदी सञ्चालन हुँदा कोरोनाको जोखिम उच्च भएको भन्दै चिन्ता उब्जिएको छ । एकातिर समुदायमा कोरोना देखिनु र अस्पतालमा चिकित्सक तथा नर्सहरुनै संक्रमित हुनुले अब कोरोनाबाट संक्रमित हुनेहरुले उपचार पाउन नसक्ने अवस्था आउने पूर्वानुमान भईरहेको छ ।
मेचीनगरमा ११७ को स्वाब संकलन
झापाको मेचीनगरमा आइतबारदेखि समुदायमा कोरोना परिक्षणका लागि स्वाब संकलन सुरु गरिएको छ । मेचीनगर नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय झापाले संयुक्तरुपमा पूर्वीनाका काँकडभिट्टाबाट परिक्षण सुरु गरेको हो ।
पहिलो दिन कोभिड(१९ को परीक्षणका लागि ११७ जनाको स्वाब संकलन गरिएको नगरपालिकाका सामाजिक विकास समितिका संयोजक नवीन बरालले जानकारी दिए ।
गत शुक्रबार काँकडभिट्टामा कार्यरत २० जना सशस्त्र प्रहरीमा संक्रमण पुष्टि भएपछि मेचीनगरमा समुदायस्तरमा कोरोना फैलिएको आशङ्का गरिएको छ । आइतबार पहिलो चरणमा सशस्त्र प्रहरीको भन्सार राजस्व गुल्म काँकडभिट्टाका ३२ जना र स्वास्थ्यकर्मी, यातायात व्यवसायी, होटल व्ययसायी, पत्रकार र सर्वसाधारण गरी ८५ जनाको स्वाब संकलन गरिएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख शशीकला राईले जानकारी दिइन् ।
हालसम्म मेचीनगरमा ७० जनामा संक्रमणा पुष्टि भइसकेको छ भने ४६ जना निको भएको र २४ जना अझैसम्म विभिन्न कोभिड अस्पतालमा उपचाररत छन् ।

Facebook Comments Box