२०४३ साल असार २० मा आमा कृष्णकुमारी र बुबा नारायाण बजगाइँको दोश्रो सन्तानका रुपमा झापाको लखनपुरमा जन्मिएका बजगाइँ अहिले औषधि व्यवसायका क्षेत्रमा झापामा चिनिएको नाम हो ।
लखनपुरको वाणि माविबाट एसएलसी उत्तिर्ण गरेपछि २०५९ सालमा लखनपुरसंगै जोडिएको दमक सहरमा उच्च शिक्षाको लक्ष्य राखेर प्रवेश गरेका बजागाइँ १७/१८ बर्षको दौरानमा स्थापित औषधि व्यवसायीको पहिचान बनाउन सफल भएका हुन् ।

कुनै पनि काममा निरन्तरता दिन सके अवश्य परिणाम हात पार्न सकिन्छ भन्ने मान्यता राख्ने बजागाइँको सफलताको शुत्र नै यहि हो भने पनि हुन्छ ।
दमकको थाना रोडमा सुनौलो फर्मा ९ औषधिको थोक विक्रेता० का रुपमा सञ्चालन गर्दै आएका बजगाईँले औषधि व्यवसायको मेलो मेसो चाहिं पाथीभरा मेडिसिन डिस्ट्रिबयूटर्सबाट पाएका हुन् । त्यसबेला पकेट खर्च कमाउने मोहमा यतातिर लागियो, विस्तारै औषधिको व्यवसायनै आफ्नो पेशा भईसकेछ मैंले त पत्तै पो पाएको रहेनछु – बजगाइँले औषधि व्यवसाय प्रवेश गर्दाको मेलो मेसोबारे छोटकरीमा भने ।
व्यवसायसंगै शुरु भएको नेतृत्वको अभ्यास
औषधि व्यवसायको क्षेत्रमा प्रवेश गर्दै गर्दा नै विवेकले औषधि व्यवसायीहरुसंगै सम्बन्धित औषधि सहकारी संस्थामा नेतृत्व सम्हाल्ने अभ्यास गरे । उनले २०६१ देखि २०६७ सम्म सो औषधि सहकारीको सञ्चालकको हैसियतमा रहेर जिम्मेवारी निर्वाह गरेपछि औषधि व्यवसायमा थप सुनौलो भविष्य खोज्दै शुरु गरेको सुनौलो फर्मा । विभिन्न कम्पनीका उत्पादन ९ औषधि०को आपूर्ति गर्ने थोक विक्रेताका रुपमा स्थापना गरेको यो फर्मा सञ्चालनमा स्वास्थ्य क्षेत्रकै अनुभवी नर्सिङ पेशामा आवद्ध श्रीमति हिराकुमारी पौडेलले पनि साथ दिएकी छिन् ।
२ छोरीको हेरचाह र संरक्षणसंगै मुख्य पेशा औषधि व्यवसायले पनि सन्तोषजनक रुपमानै फड्को मारिरहेको अनुभव छ विवेकसंग । विवेक भन्छन–झापा, मोरङ, इलाम, पाँचथर र तेह्रथुमसम्म यहाँबाट औषधि सप्लाई गर्ने गरेको छु, दुई जनालाई प्रत्यक्ष रोजगारी पनि दिएको छु हिजो भन्दा आज खुम्चिएर व्यापार गर्नुपरेको छैन, म सन्तुष्ट नै छु ।
व्यवसायमा प्रवेश गरेपछि सम्बद्ध व्यवसायीहरुको साझा हक हितसंगै सामाजिक जिम्मेवारी पनि अवश्य आउँछ । यो जिम्मेवारी विवेकले लायन्स क्लब दमक इष्टर्न लायन र औषधि व्यवसायी संघ झापाको नेतृत्वमा रहेर पूरा गर्दै आएका छन् । लायन्स क्लबमा सर्भिस चेयर पर्सनका रुपमा र संघमा झापा जिल्ला कोषाध्यक्षका रुपमा जिम्मेवारी सम्हाल्दै आएका छन विवेकले । लायन्स क्लब विशुद्ध सामाजिक सेवाको भावना राखेर आवद्ध भएका युवाहरु संगठित भएको संस्था भएकाले समाजमा आफूले आर्जन गरेको कमाईको थोरै भए पनि हिस्सा सामाजिक काममा लगाउने अवसर क्लबले प्रदान गरेको महसुस गरेका छन् ।
व्यवसायिकै हितका लागि संघ
औषधि व्यवसायी संघको जिल्ला कोषाध्यक्षको जिम्मेवारी भने व्यवसायिक हक हितका लागि पनि हो । जिल्लामा संघमा आवद्ध कूल साढे ४ सयको हाराहारीमा औषधि व्यवसायीहरु छन् ।
यसमा करिब ११ सय जना भन्दा बढी प्रत्यक्ष रोजगारीमा छन् । यसबाहेक संघमा आवद्ध नभएका व्यवसायीहरु पनि थोर बहुत अवश्य छ । संघले आफ्ना सदस्यहरुप्रति जिम्मेवारीबहन गर्ने हो–विवेक भन्छन– एक बर्ष अघि हामी नेतृत्वमा आउँदै गर्दा सपथ लिन नभ्याउँदै व्यवसायिलाई परेको एउटा समस्यामा केन्द्रित हुनुपर्यो । उपयुक्त निकास पनि दिन सकियौं, संघ संस्था वास्तवमै त्यस्तै अपठ्यारो साह्रो गाह्रो अवस्थामा चाहिने हो ।
पहिला पहिला यो क्षेत्रमा केही नजानी नबुझी व्यवसायीहरु हाम फाल्ने, कोही क्षणिक फाइदा उठाउन मात्रै खोज्ने प्रवृत्ति भएका हुनाले व्यवसायीहरुले पनि अलि धेरै समस्या ब्यहोर्नु पथ्र्यो तर अहिले छिटफुट बाहेक त्यस्तो अवस्था छैन ।
औषधि व्यवसाय भित्रका विकृतिहरुका बारेमा राखिएको जिज्ञासामा विवेक भन्छन– धेरै समस्याहरुको हल समय, परिस्थिती र प्रविधिले आफैं गरिदिएको छ । व्यवसायी साथीहरुको सोचमा पनि परिवर्तन आईसकेको छ , कालोबजारी, कृत्रिम अभाव जस्ता व्यवसायीहरुमाथि एकपक्षीय रुपमा लगाइएका आरोप मात्रै हुन् । हाम्रो संघमा आवद्ध व्यवसायीहरु त्यस्तो गलत हुनुहुन्न । एकाध मानिसहरुमा त्यस्तो प्रवृत्ती देखिएपनि हामी त्यस्ता कुरालाई निरुतसाहित गर्छौं ।
कोभिड १९ र संघको भुमिका
हामी जुन रुपमा काम गर्न भनेर संघको नेतृत्वमा आएका थियौं पहिलो कुरा त हाम्रो संघको प्रादेशिक समिति बनाउने कुरामा अल्मल भएको छ ।
त्यसपछि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ का कारण अहिले ठुलो संख्यामा नेपालमा पनि स्वास्थ्यकर्मी तथा औषधी आपूर्ति गर्ने मेडिकल पर्सनहरु छन् । हामी संघका तर्फबाट यो बिषम परिस्थितीमा के भुमिका खेल्न सकिन्छ भनेर अग्रज व्यवसायीहरुसंग पनि छलफल गर्दै परामर्श लिएर काम गरिरहेका छौं ।
शुरुका दिनमा हामीले सचेतनामुलक सन्देशहरु लेखिएका १५ हजार जति पम्प्लेट सार्वजनिकस्थलहरुमा राख्यौं । ठाउँ ठाउँमा हात धुने व्यवस्था मिलाएका छौं । जिल्लाभरीका सबै स्थानीय तहहरुसंगको समन्वयमा हामी काम गरिरहेका छौं । औषधि व्यवसायी साथीहरु अग्रभागमा रहेर जिम्मेवारीबहन गर्नुपर्ने भएको र औषधि आपूर्तिका लागि बोर्डरदेखि बजार सम्म र तराइँदेखि पहाड सम्म खटिनु पर्ने भएकाले कोभिड १९ को जोखिममा पनि हुनुहुन्छ । त्यसकारण हामीले छिटफुट रुपमा व्यवसायीहरु जो फिल्डमा खटिनुहुन्छ उहाँहरुको पीसिआर टेस्टका लागि पनि बन्दोबस्ती मिलाएका छौं ।
स्थानीय तहका स्वास्थ्य शाखाहरुसंग समन्वय गरेर हामीले २/३ दिनका बीचमा १४ /१५ जनाको पीसिआर टेस्ट गर्न सकिने गरिको व्यवस्था संघका तर्फबाट मिलाएका छौं । म आव्हान पनि गर्न चाहन्छु कोही व्यवसायी औषधि आपूर्तिका क्षेत्रमा खटिनु भएका कर्मचारीहरुलाई पीसिआर टेस्टको लागि आवश्यकता महसुस गर्नुभएको छ भने संघसंग समन्वय गर्नुहोला । हामी त्यो व्यवस्था मिलाउनेछौं । हामी यो महामारीमा आफूपनि सुरक्षित हुँदै अरुको जिवन बचाउने आफ्नो पेशागत र व्यवसायिक दायित्वबाट पछि नहटौं ।