दमक/झापाको दमकमा भारत लगायत तेस्रो मुलुकबाट फर्किनेहरुको संख्या बढेको र समुदायमा समेत कोरोना संक्रमण फैलिन थालेपछि स्थानीय सरकार थप क्वारेन्टाइन र छुट्टै आइसोलेसन कक्ष निर्माणमा जुटेको छ ।

दहाल प्रतिष्ठानमा बसेकाहरुको गुनासो सुन्दै क्वारेन्टाइन व्यवस्थापन समिति संयोजक कुमार साम्सुहाङ

दमक नगरपालिकाको आज बसेको बोर्ड बैठकले दमकको बेलडाँगी क्षेत्रमा आइसोलेसन कक्ष निर्माण गरेर संक्रमितहरुको उपचारका लागि बन्दोबस्ती मिलाउन आवश्यक तयारी गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी वडा नं ३ का वडाध्यक्ष नविन बरालले आजको बैठकमा बेलडाँगी क्षेत्रमा आइसोलेसन कक्ष निर्माण गर्ने बिषयमा छलफल भएको बताए । यस अघि दमकको आम्दा अस्पताल र दमक अस्पतालमा रहेका केही आइसोलेसन कक्षले यहाँ संक्रमणको चापलाई थेग्न नसक्ने आंकलन गरेर सो तयारी थालिएको हो । त्यसैगरी यस अघि हाल दुई स्थानमा रहेको क्वारेन्टाइनलाई बढाएर थप एक स्थानमा क्वारेन्टाइन निर्माणको प्रकृया शुरु भएको वडा नं ४ का वडाध्यक्ष समेत रहेका क्वारेन्टाइन व्यवस्थापन समिति संयोजक कुमार साम्सुहाङले बताए । उनले दमकको साविक १५ नम्बर वडामा रहेको पूर्व नेकपा एमालेको पार्टी कार्यालयलाई क्वारेन्टाइनस्थलका रुपमा सञ्चालन गर्ने नगरपालिकाको तयारी रहेको बताए । हिजोदेखिनै आवश्यक प्रकृया अघि बढिसकेको छ, त्यहाँ २५ देखि ३० जना सम्म अटाउन सक्ने क्वारेन्टाइन बनाउँदैछौं– संयोजक साम्सुहाङले निष्कर्ष न्यूजसंगको कुराकानीमा भने ।
नगरपालिकाका स्वास्थ्य शाखा कर्मचारी समेत रहेका क्वारेन्टाइन व्यवस्थापन समिति सदस्य कुवेर भट्टराईले हाल भारतसहित तेस्रो मुलुकबाट घर फर्किने दमकबासीको संख्या दिनानुदिन बढिरहेका कारण क्वारेन्टाइन थप गर्ने तयारी भएको बताए । हाल दमक ४ स्थित दाहाल प्रतिष्ठानमा १२ चैत्रदेखिनै क्वारेन्टाइन सञ्चालनमा छ भने महिलाहरुका लागि दमक १० स्थित विज्ञान पार्क परिसरमा क्वारेन्टाइनस्थल तोकिएको छ । शुरुका दिनमा मदन भण्डारी स्मृति प्रतिष्ठान र मानसरोवर कलेजमा पनि क्वारेन्टाइन सञ्चालनमा थियो । तर सम्बन्धित संस्थाहरुले पछिल्लो समय त्यहाँबाट क्वारेन्टाइन हटाइदिन आग्रह गरेपछि दुई स्थानमा मात्रै क्वारेन्टाइन सिमित गरिएको थियो ।
क्वारेन्टाइनका १२ जनाको रिपोर्ट नेगेटिभ
यसैबीच दमकका क्वारेन्टाइनमा हाल बस्दै आएकाहरु मध्ये १२ जनाको पीसिआर रिपोर्ट नेगेटिभ आएको छ । उनीहरुको आज मात्रै सो रिपोर्ट आएपछि घर फर्किएका छन् । हाल दाहाल प्रतिष्ठानमा रहेका ५१ मध्ये १२ जनाको रिपोर्ट नेगेटिभ आएको हो । अन्यको रिपोर्ट आउने क्रममा रहेको भट्टराईले जनाए । नगरपालिकाको तथ्याङक अनुसार श्रावण २९ सम्ममा दमकमा रहेका क्वारेन्टाइनबाट ७९२ जना घर फर्किएका छन् । ति मध्ये २१३ महिला छन् । नगरपालिकाकी उपप्रमुख तथा प्रवक्ता गीता अधिकारीका अनुसार हाल सम्म दमकमा भेटिएका २१ संक्रमित मध्ये १४ जना उपचारपछि घर फर्किएका जनाइन् । कोरोनाका कारण नगरबासीले आत्तिहाल्नुपर्ने अवस्था नरहेपछि सतर्कता र उच्च सावधानी भने आवश्यक रहेको उनको भनाई छ ।

Facebook Comments Box