गौरीगञ्ज/झापाको गौरीगञ्ज गाउँपालिकाले कोरोना संक्रमण बढेसंगै सञ्चालन गर्दै आएका सबै क्वारेन्टाइन अब बन्द गर्ने भएको छ । गाउँपालिकाले यस अघि भारत तथा तेस्रो मुलुकबाट भर्खरै घर फर्किएकाहरुलाई समुदायमा सोझै जान रोक्दै क्वारेन्टाइनमा राख्ने व्यवस्था गरि आएको थियो ।
तर संघीय सरकारको निर्णयलाई आधार मान्दै गाउँपालिकाले हिजो बुधबारदेखिनै क्वारेन्टाइनमा मानिसहरु राख्न बन्द गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी दिए । उनले सो निर्णयलाई भोली बस्ने कार्यपालिकाको बैठकले अनुमोदन गर्ने पनि जनाए । उनका अनुसार हिजो सम्म आएका १४ जना अहिले क्वारेन्टाइनमा छन । उनीहरुको पीसिआर रिपोर्ट आएपछि उपचारमा वा घरमा कहाँ पठाउनुपर्ने हो त्यतै पठाइन्छ – मिश्रले भने ।
गाउँपालिकाले यस अघि गौरीगञ्ज बहुमुखी क्याम्पस, खजुरगाछी मावि र प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा समेत क्वारेन्टाइन सञ्चालन गर्दै आएको थियो ।
के हुन्छ त अब ?
समुदायस्तरमै कोरोना संक्रमण फैलिसकेको गौरीगञ्ज भारतीय सीमासंग जोडिएको गाउँपालिका हो । यसका अधिकांश वडाहरु भारतको बिहारसंग जोडिन्छन । यहाँका युवाहरु धेरै संख्यामा भारतका दिल्ली, पञ्जाब, केरला, गुजरात, हरियाणा लगायतका ठाउँमा गएका छन् । उनीहरु भारतमा संक्रमण बढेसंगै निक्कै कष्टसाथ घर फर्किएका थिए ।
उनीहरु घर फर्किने क्रम अहिले पनि जारी छ । यस अवस्थामा भारतबाट फर्किएका हुन वा अन्य मुलुकबाट सबैले सोझै घर जानु पर्ने हुन्छ । हिजोदेखिनै आएका सबैलाई घर घरमा क्वारेन्टाइनमा बस्न र आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको वडा नं १ का वडाध्यक्ष कार्तिकलाल राजवंशीले बताए । उनले भने– सामान्यतया अब सोझै घर घर गएर बस्नुपर्ने हुन्छ । होल्डिङ सेन्टरमा आएर बसेपछि सम्बन्धित वडाका वडाध्यक्षसंग सम्पर्क गरेर जानकारी गराएपछि होल्डिङ सेन्टरबाट घर आउने अनुमति हुन्छ । त्यसैका आधारमा घर आएर बस्ने हो ।

Facebook Comments Box