दमक/ पूर्वका झापा , इलाम, मोरङ , सुनसरी लगायतका जिल्लामा लगातारको झरीले मानिसको दैनिक जनजिवनमा प्रभाव पारेको छ । केही दिनयता भइरहेको लगातारको बर्षाले यहाँँका ग्रामिण तथा बजारका मानिसहरुको दैनिकीमा असर पारेको हो ।
हिजो पूर्वका झापा र इलाममा देशभरकै अन्य जिल्लाको तुलनामा भारी बर्षा भएको थियो । इलाममा १५९.६ र झापामा १५४ मिलिमिटर बर्षा भएको थियो । असोजको दोश्रो सातामा प्रवेश हुँदै गर्दा भइरहेको लगातारको झरीले झापाका गाउँदेखि शहर सम्म सर्वसाधारणको दैनिकीमा प्रभाव परेको छ । झरीका कारण नजिकिदो चाडपर्व उन्मुख बजारमा नकारात्मक असर परेको व्यवसायीहरुले बताएका छन ।
दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाँईले लामो समय लकडाउन भएर खुलेको यहाँको बजारमा पछिल्लो समय भइरहेको बर्षाले थप नकारात्मक असर पुगेको बताए । तिजको सन्मुखदेखिनै यहाँ चाडबाड केन्द्रित बजार तातिने गरेकोमा यसबर्ष बजार सुनसान अवस्थामा रहेको उनले बताए । खाद्यन्न तथा किराना व्यवसाय लकडाउनका समयमा पनि चालू थियो तर अन्य किसिमको व्यापार भने चौपट हुने अवस्था आएको व्यवसायीहरुले गुनासो गरेका छन । सधैंका बर्षहरुमा चिसो पेय पदार्थको कारोबार यतिबेला उच्च हुने गरेको भए पनि यस बर्ष लगातारको लकडाउन र लकडाउन खुले लगत्तै भइरहेको बर्षाले उक्सिनै नसकेको चिसो पेय पदार्थको डिलरका रुपमा माँ शक्ति सप्लायर्स सञ्चालन गर्दै आएका दमकका अर्का व्यवसायी राजकुमार न्यौपाने ९ राजु० बताउँछन । अघिल्लो बर्षको तुलनामा यस बर्ष कारोबार २५ प्रतिशत हाराहारीमा मात्रै रहेको उनले बताए ।
के हो त झरी पर्नुको कारण
आज पनि देशभरका धेरै ठाउँहरुमा मेघगर्जन र चटयाङसहित बर्षा हुने जल तथा मौसम विभागले जनाएको छ । प्रदेश १ का केही स्थानमा आज अति भारी बर्षाको सम्भावना रहेको पनि जनाइएको छ ।
जल तथा मौसम विभागको नियमित बुलेटिनमा भनिएको छ – प्राय सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १÷२ स्थानहरुमा अति भारी वर्षाको सम्भावना छ ।
मौसमविद गंगा नगरकोटीका अनुसार बङ्गालको खाडीमा न्यून चापीय क्षेत्र बनेको र त्यो उत्तर पश्चिमतिर सरिरहेकाले नेपालमा मनसुन झन् सक्रिय हुँदा लगातार झरी परिरहेको हो ।
उनका अनुसार आउँदो शनिबारसम्म नै लगातार जसो झरी पर्ने सम्भावना छ । सामान्यतया सेप्टेम्बर २३ तारिखदेखि नेपालबाट मनसुन बाहिरिने भए पनि यो वर्ष मनसुन सकिने बेला झन सक्रिय भएको छ । यसपालिको मनसुन एक हप्ता ढिलो गरी बाहिरिने मौसमविद्ले बताएका छन् । यसपालि दुई दिन ढिला गरी मनसुन नेपाल भित्रिएको थियो । यो वर्षको मनसुनमा धेरै ठाउँमा औसतभन्दा बढी पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
लगातार झरी पर्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गर्दै आएका छन् ।