गौरादह/व्यस्त समय । व्यस्त समाज । तर पनि स्वास्थ्यका लागि मनोरञ्जन र आरामको पनि आवश्यकता पर्छ । अरु उमेर समुहका मानिसहरुले मनोरञ्जनका लागि रुची अनुसारका उपायहरु अपनाउन सक्छन तर बालबालिकाहरु जतिबेलै मनोरञ्जनका नाममा टेलिभिजनको स्क्रिन र इन्टरनेटमा मात्रै व्यस्त भईदिनाले मानसिक र शारिरिक स्वास्थ्यमा दिनप्रतिदिन नकारात्मक असर परिरहेको छ ।
यसबारे अभिभावकहरुले समयमै बालबालिकालाई स्वस्थ्यवर्धक मनोरञ्जनमा केन्द्रित गरिनु आवश्यक ठानेर झापाको गौरादह २ मा लायन्स क्लब अफ गौरादहले बालबालिकालाई लक्षित गर्दै रमणीय पार्क निर्माणको काम धमाधम गरिरहेको छ ।
सो वडाको वडा कार्यालयबाट करीब ५० मिटर नजिकै रहेको नगरपालिकाकै स्वामित्वको ३ कठठ जग्गामा पक्की पर्खाल लगाएर सो क्षेत्र भित्र विभिन्न बाल मनोरञ्जन केन्द्रित लायन्स चिल्ड्रेन पार्क निर्माणको काम अन्तिम चरणमा पुगेको छ । गौरादह २ का वडाध्यक्ष हेमन्त कार्की सो वडाका लागि मात्रै नभएर सो चिल्ड्रेन पार्क सिंगो गौरादह नगरको गहनाका रुपमा स्थापित हुन सक्ने सम्भावना औंल्याउँछन् ।
कसरी हुँदैछ पार्क निर्माण
लायन्स क्लब अफ गौरादहले अगाडी सारेको चिल्ड्रेन पार्क निर्माणको अवधारणालाई सरकारले समेत साथ दिईरहेको छ । गत बर्षको भदौमा प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले त्यहाँ पार्क निर्माणको शिलान्यास गरे । लायन्स क्लब अफ गौरादहका अध्यक्ष भुपालराज कट्वालका अनुसार पार्क निर्माणका लागि स्थानीय र प्रदेश सरकारबाट समेत सकारात्मक सहयोग भईरहेको छ ।
पार्क बनाउन प्रदेश सरकारले चालू आर्थिक बर्षको बजेटबाटै २० लाख रुपैयाँ र गौरादह नगरपालिकाले ५ लाख रुपैयाँ बजेट विनियोजन गरिसकेका छन् । सोसंगै लायन्स क्लब अफ गौरादहले आफ्ना सदस्यहरुबाट कूल ७ लाख रुपैयाँ जुटाएर पार्क निर्माणमा खर्च गरिरहेको छ । वडाले समेत १ लाख रुपैयाँ प्रदान गर्यो । वडा नं २ का वडा सचिव बाबुराम केसीले पार्क निर्माणका लागि वडा कार्यालयबाट हुन सक्ने आवश्यक सबै किसिमको सहयोग प्रदान गरिरहेको बताए । कूल ३८ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको सो योजनाका लागि प्रदेश र स्थानीय सरकारको बजेट निकासा हुने क्रममा छ ।
पार्क भित्र
सो चिल्ड्रेन पार्क भित्र लायन्स क्लब गौरादहको संस्थागत कार्यालय र सभाकक्ष निर्माण सम्पन्न भईसकेको छ । त्यहाँँ क्लबका बिषयमा जानकारीमुलक विभिन्न सामाग्रीहरु राखिनुका साथै क्लबको बैठक तथा सभा सेमिनारहरु सञ्चालन गरिने अध्यक्ष कट्वालले बताए । त्यस्तै पार्कमा बालबालिकाहरुका लागि उपयोगी र स्वास्थ्यवद्र्धक खेल सामाग्रीहरु र खेल्ने स्थानको बन्दोबस्ती गरिँदैछ ।
पार्क भित्र बालबालिकालाई आकर्षित गर्न गुफा र विश्व शान्तीका दुत गौतम बुद्धको मूर्ति राखिनेछ । त्यसका अतिरिक्त देश विदेशमा रहेका बालबालिका आकर्षित गर्ने र उनीहरुको अतिरिक्त ज्ञान बढाउने किसिमका सामग्रीहरु त्यहाँँ राखिनेछ । क्लबका अध्यक्ष कट्वालका अनुसार सो पार्क यसै आर्थिक बर्ष भित्र सम्पन्न गर्ने गरि काम भईरहेको छ । तर समय र बजेट समेतको अपुगका कारण तत्कालै नभएपनि केहि महिना भित्रै पार्क निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने क्लबको योजना रहेको बताइएको छ ।