दमक/ दमकको केन्द्रविन्दु वडाका रुपमा चिनिएको वडा नं ५ र आसपास क्षेत्रमा आँखा सम्बन्धि समस्या भएका विरामीको संख्या उल्लेखीय रहेको पाइएको छ ।
धेरै जसो बृबृद्धाहरुमा आँखाको ज्योती कमजोर हुँदा चश्माको सहारा लिनुपर्ने देखिएको छ भने आर्थिक रुपले विपन्न कतिपय बृद्धबृद्धाहरुले लामो समयदेखि आँखाको उपचार नपाउँदा समस्या झेल्नु परिरहेको यहाँ सञ्चालित आँखा र दाँत तथा मुखको परीक्षण शिविरमा आएका सर्वसाधारणबाट पुष्टि भएको छ ।
दमक ५ को वडा कार्यालयले शुक्रबार र शनिबार ( दुई दिन) सम्म दीपिनी आधारभुत विद्यालयमा सञ्चालन गरेको शिविरमा आँखाको समस्या भएका मात्रै करीब ४ सय जनाले आँखा परीक्षण गराएका छन् ।
वडाले सञ्चालन गरेको सो शिविरमा आएका करीब ६ सय ५० जना मध्ये कूल ३ सय ८४ सय जनाले आँखाको परीक्षण गराए । ति मध्ये शुक्रबार एकैदिन १३ जना बृद्धबृद्धाको आँखामा मोतिया विन्दुको समस्या देखिएको दमक ५ की महिला वडा सदस्य ख्यामकुमारी परियारले जानकारी दिनु भयो । आँखाको समस्या भएर आएका मध्ये पनि आर्थिक रुपले विपन्न सबैको आँखाको शल्यक्रियासहित थप उपचारका लागि वडा कार्यालयले बन्दोबस्ती मिलाउने वडा सचिव भोसकुमार थुलुङले बताउनु भयो । शिविरमा आँखा जाँचका लागि हिमालय आँखा उपचार केन्द्र दमकका वरिष्ठ नेत्र सहायक मोती बराल नेतृत्वको टिमले प्राविधिक सहयोग पुरयाएको थियो ।
त्यसैगरी शिविरमा आएका दाँत तथा मुख सम्बन्धी समस्या भएका २ सय २९ मध्ये आर्थिक रुपमा विपन्न १२÷१३ जनाको थप उपचारपनि वडा कार्यालयले गर्ने जिम्मा लिएको वडा सचिव थुलुङले जानकारी दिनु भयो । त्यहाँ दाँत तथा मुखको परीक्षणका लागि दमकको ऊँ शान्ती डेन्टलका डा. हेमराज गैरे नेतृत्वको टिमले सहयोग पुरयाएको थियो ।
यसैबीच शिविर सम्पन्न गर्न सहयोग गर्ने स्वास्थ्य संस्था तथा चिकित्सक र अन्य स्वास्थ्य कर्मचारीहरुलाई वडा कार्यालयका तर्फबाट वडाध्यक्ष इन्द्र गुरुङले प्रशंसा पत्रसहित सम्मान गर्नुभएको छ ।