दमक/ दमक नगरपालिकाले दुई बर्ष अघि दमकको पुरानो सब्जी बजार परिसरमा सपिङ कम्प्लेक्सका लागि बनाएको चार तले पक्की भवन भित्रै पानी जमेको छ । वडा नं ६ मा अत्याधुनिक भन्दै नगरपालिकाले एक निर्माण कम्पनीलाई करिब चार करोड रुपैयाँ लगानी गरेर बनाएको अण्डरग्राउण्डसहितको चार तले पक्की भवनका प्राय सबै तलामा भवन भित्रै पानी जमेको हो ।

सो भवनका माथिल्लो तलामा दमक ६ को वडा कार्यालय र आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा रहेको छ । यसअघि नयाँ तरकारी बजार परिसरमा रहेका ति कार्यालय हालसालै नगरपालिकाको अत्याधुनिक सपिङ कम्प्लेक्स समेत सञ्चालन गर्ने उद्धेश्यसहित बनाइएको सो भवनमा स्थानान्तरण गरिएका हुन ।
सोमबार मध्यरातीदेखि भारी बर्षा भएपछि हिजो मंगलबार बिहान कार्यालयमा पुगेका कर्मचारीहरु सो भवन भित्रै पानी जमेको आहाल देखेपछि आश्चर्यमा परेका थिए । नगरपालिकाले करोडौं बजेट लगानी गरेर बनाइएको भवनका भित्रि कोठाहरुमा नै पानी जमेपछि यसको डिजाइनिङ र निर्माणको गुणस्तरमानै प्रश्न चिन्ह खडा भएको स्थानीयबासीहरुको बुझाई छ । सपिङ कम्प्लेक्सका लागि बनाइएको सो भवन निर्माणपछि वडा कार्यालय र आधारभूत स्वास्थ्य केन्द्रको बाहेक अन्य प्रयोजनमा आउन सकेको छैन । नगरपालिकाले निजी स्रोत र संघीय सरकारको समेत बजेट खर्चिएर सो भवन निर्माण गरेको थियो । बिकासमा दूरदृष्टीको अभावले नगरपालिकाको करोडौं बजेट यसरीनै सपिङ कम्प्लेक्स भवन भित्र पानीको आहाल बनेको अवस्थामा अनुपयोगी भएको बुझ्न गाह्रो छैन ।

