काँकरभिट्टा/ शारीरिक रुपमा हुने हिंसाजन्य घटना नियन्त्रण गर्ने उद्धेश्यले छात्राहरुका लागि आत्मरक्षा सम्बन्धि अभिमुखिकरण तालिम बिहीबारदेखि सुरु भएको छ ।

‘महिला सशक्तिकरणका लागि हाम्रो संकल्प, खेलकुदमा महिला सहभागिता उत्तम विकल्प’ भन्ने मूल उद्घोषसहित काँकरभिट्टामा तालिम सुरु भएको हो ।
राष्ट्रिय खेलकुद परिषद्को राष्ट्रपति खेलकुदमा महिला सहभागिता अभिवृद्धि कार्यक्रम अन्र्तगत सञ्चालित तालिमको उद्घाटन प्रदेश सभा सांसद् गोपालचन्द्र बुढाथोकीले गरे ।
जिल्ला खेलकुद विकास समिति झापाको समन्वय तथा व्यवस्थापनमा सुरु दुई दिवशीय तालिम शुक्रबार समापन हुनेछ । तालिमको उद्घाटन सत्रमा नेपाल सेल्फ डिफेन्स संघका अध्यक्ष डिबी रानापालले शारीरिक रुपमा महिलालाई हुन सक्ने हिंसात्मक घटनाबाट जोगिने उपाय सिकाउन तालिम सुरु गरिएको बताए ।
अभिमुखिकरण तालिममा जिल्लाका सामुदायिक र संस्थागत विद्यालयमा कक्षा ९ देखि १२ सम्म अध्ययनरत् ३ सय बढी छात्राहरुले भाग लिएका संघका जिल्ला उपाध्यक्ष धनप्रसाद शिवाकोटीले जानकारी दिए ।
एक विद्यालय बराबर ३ जना छात्रा सहभागी तालिमको सहजिकरण नेपाल सेल्फ डिफेन्स संघका प्रमुख प्रशिक्षक सञ्जु महर्जन, क्षेत्रीय प्रशिक्षक शिला श्रेष्ठ, प्रकाश बस्नेत र पिंकी वर्मनले गरिरहेका छन् । संघका वरिष्ठ केन्द्रीय उपाध्यक्ष शंकर थापाले अहिलेसम्म ३४ जिल्लाका २० हजार महिलालाई प्रशिक्षित गराइएको बताए ।
सो अवसरमा १० औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिएका झापा जिल्लाका १ सय १० वटा सामुदायिक र संस्थागत विद्यालयलाई खेल सामाग्री खरिद तथा प्रोत्साहन स्वरुप प्रति विद्यालय १० हजार रुपैयाँका दरले रकम वितरण गरियो ।
त्यसक्रममा सगरमाथा मल्टि मार्सल आर्टका अध्यक्ष दीपक धिमाल र शारीरिक सुगठन प्रतियोगितामा मिस्टर पूर्वाञ्चलको उपाधि विजेता तुलबहादूर श्रेष्ठलाई सम्मान गरिएको थियो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा स्वागत समिति उपाध्यक्ष भेषराज भण्डारी र सञ्चालन समिति कार्यालय प्रमुख टहलदाश मैनालीले गरेका थिए ।

Facebook Comments Box