दमक/लगातारको भारी बर्षाका कारण जनजिवन अस्तव्यस्त बनेको छ ।

सडक किनारका ढलहरुमा पानीको निकास अवरुद्ध हुँदा शहरी क्षेत्रका बस्तीहरु डुबानमा परेका छन भने ग्रामिण क्षेत्रमा खोला किनारमा रहेका विपन्न तथा सुकुम्बासीहरुको जनजिवन समस्यामा परेको छ ।
गएरातीदेखी लगातार बर्षा हुँदा मावा, रतुवा, कन्काई, विरिङ, मेची, कन्काई बनियानी , कमल लगायतका खोला तथा साना खोल्सीहरुमा गएरातीदेखिनै बाढी आएको छ ।

बाढीका कारण झापाको गौरीगञ्ज गाउँपालिका वडा नं २ कोरोबारी स्थित भाकुरमारी, आँपगाछी, वडा नं १ स्थित महाभाराका कतिपय बस्तीहरु डुबानमा परेका छन् । कन्काई र कमल बनियानी खोलामा आएको बाढीले त्यसक्षेत्रको धान रोपाइँ भएको क्षेत्रमा असर पुरयाएको छ भने कतिपय घरहरुनै डुबानमा परेपछि सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने तयारी भईरहेको स्थानीयबासीहरुले बताएका छन् । गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले खोला नदीका कारण बर्षेनी क्षति ब्यहोर्दै आएका त्यस क्षेत्रका सर्वसाधारणलाई सम्भावित जोखिमबाट जोगाउन प्रभावित क्षेत्रमा रबरको डुंगा प्रयोगमा ल्याइने बताए ।

शिवसताक्षी नगरपालिका अन्तर्गत साविकको पाँचगाछी र शिवगञ्ज गाविस क्षेत्रमा कन्काईमा आएको बाढीका कारण सर्वसाधारण त्रासमा परेका छन् । भेलामुनी, विश्वडुब्बा, रंगीयाथान लगायतका बस्तीहरुमा खोला बाढीका कारण सर्वसाधारणहरु चिन्तित बनेका हुन् । ति क्षेत्रमा बाढीकै कारण मानवीय क्षति भएको जानकारी अहिले सम्म नआएको प्रहरीले जनाएको छ ।
त्यसैगरी मोरङको रंगेलीस्थित गेउरिया खोलाले डाईभर्सन बगाएपछि त्यहाँको आवागमन बन्द भएको छ । डाइभर्सनसंगै सो खोलाले बगाएर एक जना अपरिचित ब्यक्तीलाई बगाएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । मोटरसाईकलमा आएका करिब २५–३० उमेर देखिने ति व्यक्ति रातीदेखि बेपत्ता भएकोले खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । लगातारको बर्षाका कारण सिँगिया र बक्राहा खोला आसपासका १ सय ५० बढी बिस्थापित भएका छन् । सुकुम्वासीको रुपमा खोला आसपासमा बस्दै आएका ब्यक्तिहरु बिस्थापित भएकोले उनीहरुलाई सुरक्षित ठाउँमा सार्ने काम भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मुग्लिन सडक बन्द
नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोका कारण रातीदेखीनै यातायात अवरुद्ध भएको छ । त्यहाँ राती सम्म एकतर्फीमात्रै गाडी चलेपनि आज विहानदेखी यातायात चल्न सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ । यो सडक खण्डको सत्र किलोमा बिहीबार राति १० बजेतिर पहिरो खसेकाले एकतर्फी रुपमा मात्रै गाडी चलेको र ठूलो पानी परिरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ ।
एकतर्फी रुपमा आलोपालो गरी मात्रै गाडी चलेकाले लामो जाम भएको पनि प्रहरीले जनाएको छ । यो सडकखण्ड निर्माणका क्रममा अघिल्लो वर्ष पनि पहिरोका कारण यात्रुले सास्ती बेहोर्नुपरेको थियो ।

Facebook Comments Box