दमक / ‘नाइरोबी फ्लाई’ किराबाट निस्कने कडा एसिडबाट हुने संक्रमण बढ्न थालेको छ । झापासहितका पूर्वी तराईका अस्पतालले यस्ता बिरामीको संख्या दिनहुँ बढिरहेको  जनाएका हुन ।

दमक अस्पतालका छालारोग विशेषज्ञ डा. गुरु पौडेलले पछिल्लो एक सातामा नाइरोबी किराको एसिडका कारण घाउ भएर करिब तीन सयजना उपचारका लागि आएको बताए । ‘पछिल्लो समय दैनिक ४५–५० जना बिरामी आइरहेका छन् । पहिला मेरोमा दादका बिरामी धेरै आउँथे । तर, अहिले अधिकांश बिरामी नाइरोबी फ्लाईकाकारण घाउ भएका हुने गरेका छन्,’ उनी भन्छन्, ‘नाइरोबी फ्लाईकै कारण हो भनेर यकिन गर्नबायप्सी गर्नुपर्छ । तर, सबै लक्षण मिलेको छ । क्लिनिकल डाइग्नोस्टिकले नै नाइरोबीकै कारण भन्ने पुष्टि हुन्छ ।’ दमक अस्पतालमा मात्र पछिल्लो एक सातामा करिब तीन सय बिरामी यही समस्याका कारण आएका छन् । भारी वर्षापछि यसको फैलावट भएको हुन सक्ने डा. पौडेलको भनाइ छ ।

 

दैनिक ५० जनासम्म  संक्रमित  – डा. गुरु पौडेल, छाला तथा यौनरोग विशेषज्ञ, दमक अस्पताल 

नाइरोबीका कारण शरीरमा घाउ भएका बिरामी दमक अस्पतालमा मात्र दैनिक ४०–५० जना फेला परिरहेका छन् । क्लिनिकल डाइग्नोस्टिकबाट हामीले यही संक्रमण भन्ने पत्ता लगाएका हौँ । नाइरोबी एउटा किरा हो । टोक्ने–चिल्ने गर्दैन ।

यसको सिरोमिक फुडले असर गर्ने हो । यो हाम्रो शरीरमा यसै हिँडेर गयो भने पनि केही गर्दैन । यसलाई गाह्रो–साह्रो पर्‍यो भने वा थिचियो भने यसको फ्युड निस्किन्छ, जसमा कडा केमिकल र एसिड हुन्छ । फ्युड लागेको ठाउँमा तत्काल नै शरीर रातो हुने, फोका आउने, पोल्ने, फोका फुट्ने हुन्छ ।

यसकै कारण क्रिटिकल हुँदैन । तर, छालाको ब्यरियर नष्ट हुँदा अरू ब्याक्टेरियल इन्फेक्सन हुन सक्छ । आँखामा फ्युड परे बन्द भइहाल्छ । यो रोग सर्दैन । त्यही फ्लाईको केमिकलले मात्र शरीरमा असर गर्छ । विशेषगरी प्रत्येक वर्ष गर्मीयाम र पानी परेपछि यो किरा बढी देखिन्छ । अघिल्ला वर्षमा यो यति धेरै थिएन ।

यी हुन् लक्ष्यण

नाइरोबीका कारण शरीरका जोर्नीहरूमा घाउ देखिएको डा. पौडेलले बताए । ‘आँखा र शरीरको जोर्नीमा समस्या देखिन्छ । शरीरको जुन ठाउँमा किरा थिचिन्छ, त्यहीँ समस्या देखिने हो,’ उनले भने, ‘यो किराले टोक्ने होइन । थिचिएपछि यसबाट कडा एसिड निस्किन्छ । त्यही कारण घाउ हुन्छ ।’किरा बसेको भाग रातो हुने, पोल्ने, फोका उठ्ने, फुट्ने र थप संक्रमण हुने डा. पौडेलले बताए । उनका अनुसार यो किराको संक्रमण तराई, पहाड र हिमाली क्षेत्रसम्म हुन्छ ।

यद्यपि,  स्वास्थ्य कार्यालय झापाले भने झापामा नाइरोबी किराका कारण हुने संक्रमण नदेखिएको जनाएको छ । स्वास्थ्य कार्यालय झापाका प्रमुख योगराज घिमिरेले झापामा नाइरोबीका कारण संक्रमण फैलिएको हल्ला निराधार भएको बताए । ‘यो हल्ला मात्र हो । यसको पुष्टि भएको छैन,’ उनले भने, ‘शरीरमा घाउ त देखिएका छन् । तर, प्राविधिक पुष्टि भइसकेको छैन ।’

कसरी जोगिने ?

यसलाई रोक्न झ्यालमा जाली लगाउने । सुत्दा ओछ्यानमा किरा भए–नभएको राम्रोसँग हेर्ने गर्नुपर्छ । लुगा लगाउँदा पनि भित्र केही छ कि छैन भनेर टकटक्याएर लगाउने गर्नुपर्छ । बत्तीमा यस्ता किरा आउन सक्छन्, बत्ती निभाएर सुत्ने गर्नुपर्छ । यदि शरीरमा किरा देखियो भने थिच्ने, मार्ने गर्नुहुँदैन । संक्रमण देखिए चिकित्सकसँग परामर्श गर्नुपर्छ ।

Facebook Comments Box