दमक/ देशैभरको मौसम बदली भई भारी बर्षा हुने क्रम जारी छ । जल तथा मौसम पूर्वानुमान शाखाका अनुसार पछिल्लो पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै बर्षा सिमरामा भएको छ भने सिमरापछि भारी बर्षा प्रदेश १ को राजधानी विराटनगरमा भएको छ । सिमरामा २०६ मिलिलिटर पानी परेको छ भने विराटनगरमा १७२ मिलिलिटर पानी परेको छ । विराटनगरको अधिकतम तापक्रम २९ डिग्री सेल्सियस रहेको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा कम बर्षा पोखरामा भएको छ । धेरैजसो बर्षा भईरहने ठाउँका रुपमा रहेको पोखरामा ०.५ मिलिलिटर बर्षा भएको शाखाले जनाएको छ ।
भारी बर्षाका कारण झापाका ग्रामिण क्षेत्रका कतिपय बजार र बस्तीहरुबीचको आवागमन बन्द भएको छ । झापाको दमकसंगै जोडिएको कमल ५ साविक लखनपुरको मंगलबारेबाट क्याम्पा हुँदै शिवगज जाने सडक बर्षाका कारण अवरुद्ध भएको छ । सो सडकमा पर्ने गेउरीया खोलामा पानीको सतह बढेपछी आवागमन बन्द भएको हो ।
भारी बर्षाकै कारण गौरीगञ्ज वडा नं २ का केहि परिवारलाई सुरक्षित स्थान तर्फ सार्नु परेको छ । गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले वडा नं २ मा ४÷५ परिवारलाई सुरक्षित बासस्थानको व्यवस्था मिलाउनु पर्ने अवस्था आएको जानकारी आफूले पाएको बताउँदै सम्बन्धित वडालाई आवश्यक निर्देशन गरिएको बताउनु भयो । वडा नं १ का केहि बस्तीहरुमा समेत बाढी पस्ने खतरा रहेको जानकारी पाएपछि पूर्व सतर्कता अपनाउन सूचित गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो ।