दमक/ पछिल्लो समय कोरोना संक्रमणको लक्षण देखिने बिरामी बढन थालेको छ । झापाका प्रमुख शहर तथा गाउँ सम्म सर्वसाधारणहरुमा रुघाखोकी, ज्वरो आउने, जिउ दुख्ने , हाँँछयु आइरहने, टाउको दुख्ने जस्ता कोरोनासंग मिल्दा जुल्दा लक्षण देखिएका बिरामी बढेका हुन । अस्पतालहरुमा समेत त्यस्ता लक्षण भएका बिरामीहरुको चाप बढदै गएको जनाइएको छ ।
पछिल्लो २४ घण्टामा देशभर चार सय ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार ६ सय ५१ जनामा गरिएको नमुना परीक्षणमा चार सय ५७ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । अहिले देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १७ सय ७६ जना पुगेको छ । संक्रमणका कारण मोरगंमा दुई दिन अघि एक जना कैदीबन्दीको मृत्यु भएको थियो ।
यसैबीच जिल्ला प्रशासन कार्यालय झापाले कोरोना संक्रमण बढन थालेको भन्दै स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना गर्न सर्वसाधारणलाई सचेत गराएको छ । कार्यालयले आज सोमबार सूचना प्रकाशित गर्दै भिडभाडमा नजान, जानै परे मास्कको प्रयोग गर्न पनि अनुरोध गरेको हो । कार्यालयले कोरोना विरुद्धको खोपको बुस्टर डोज लगाउन पनि सर्वसाधारणमा सुचित गराएको छ ।

Facebook Comments Box