दमक/ असार २६ गते देखीको अबिरल बर्षाको कारण खोला नदीमा आएको बाढी र पहाडी जिल्लाहरुमा गएको पहिरोमा परेर शनिबार बिहान सम्ममा ९ जनाको ज्यान गएको छ । त्यस्तै ७ जनाको अवस्था अज्ञात छ ।
मृत्यु हुनेहरुमा ईलाम चुलाचुली १ का ५० बर्षीय अंचल लावती र संखुवासभा घर भई झापा दमक नगरपालिका १० सेतुमारीमा मा मावल घर आएकी ६ बर्षिया बालिक ऐलिजा न्यौपानेको मृत्यु भएको छ । त्यसैगरी भोजपुर रामप्रसाद राई गाउँपालिका ७ का ६६ बर्षीय जगत बहादुर राईलाई खोलाले बगाएको छ । त्यस्तै भोजपुरकै ट्याम्केमयुम गाउपालिक ९ का १४ बर्षीय जनक बि.क.को घर छेउबाट कान्लो भत्किएर शौचालयमा पर्दा पुरिएर मृत्यु भएको छ । त्यसैगरी खोटाङ खोटेहयाङ गाउपालिका २ की २८ बर्षीया रेखा राई छोराहरु ४ बर्षिय रोमन राई र ७ महिनाका रोहन राईको आफ्नै घरले किचेर मृत्यु भएको छ ।
यस्तै खोलाले बगाउँदा वेपत्ता भएका ओखलढुङगा चिसुङखुगडी गाउपालिका ४ का ८५ बर्षीया पासाङ पुटी सेर्पा र खोलाले बगाएर बेपत्ता भएका उदयपुर घर भई ईटहरी ५ मा बस्दै आएका ३५ बर्षिय सागर थापाको आज बिहान लाश भेटिएको छ ।
यसैगरी बेपत्ता हुनेहरुमा पाँचथर मिक्लाजुङ गाउपालिका ४ का ९ बर्षिय दिवन राई, झापा भद्रपुर नगरपालिका ९ का ४५ बर्षिय सफल हँस्दा, सुनसरी बराहाक्षेत्र १ का १० बर्षिय अर्पन राई र मोरङ कानेपोखरी गाँउपालिका २ का नाम ठेगाना खुलिनसकेका १ जना रहेका छन् । यसैगरी भोजपुर रामप्रसाद राई गाँउपालिका ५ की ३५ बर्षिया मनकुमारी राई छोराहरु १७ बर्षिय शिबकुमार राई र १५ बर्षिय सक्तीकुमार राईलाई आफ्नै भान्सा घरले किच्दा पुरिएर बेपत्ता भएका छन ।
पूर्वी तथा मध्य तराईका जिल्लाहरुमा अबिरल वर्षाका कारण जनजिवन आज शनिबार पनि थप संकटमा परेको छ । झापा, मोरङ, सुनसरी, सप्तरी, महोत्तरी लगायतका जिल्लाका धेरै जसो ठाउँ डुबानमा परेका छन् । बिभिन्न नदी र खोलामा आएको बाढीका कारण झापाका १५ स्थानीय तह मध्ये प्राय सबै प्रभावित बनेका छन । गौरीगञ्ज गाउँपालिकाको वडा नं १ र २ सबैभन्दा बढी प्रभावित भएको गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले जानकारी दिनु भयो । ति वडाका प्रभावितहरुलाई सुरक्षित बासस्थानको व्यवस्था मिलाइएको उहाँले बताउनु भयो ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय, राजविराजले जिल्लाभरिका एक हजार घर डुबानमा परी जोखिममा रहेको जनाएको छ । प्रहरी निरीक्षक रिता पौडेलले जिल्लामा कुनै मानवीय क्षति भने नभएको जानकारी दिइन् । वर्षाका कारण तिलाठी प्रहरी चौकीबाट प्रहरीहरु विस्थापित भएका छन् । सो चौकीका प्रहरी सुरक्षित ठाउँमा पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खाँडो नदीमा आएको बाढीले तिलाठी प्रहरी चौकी र भन्सार कार्यालयसमेत डुबानमा परेको छ ।