दमक/निरन्तर एक साता भारी बर्षाको क्रममा धेरै बालबालिका खोला, नदी , पोखरी र खोल्साखोल्सीमा डुबानको शिकार भएका छन् ।
धेरै जसो अभिभावकहरुले बालबालिकालाई घरमा छोडेर वा संगै खेतमा धान रोपाइँ गर्न जाँदा बालबालिकाहरु खेल्नेक्रममा घरै छेउका पानी जम्ने खाल्डा, नहर, कुलो पैनी र खोल्सीहरुमा डुबेर अकालमा ज्यान गुमाउनु परेको हो ।
यसै साता झापाको दमक १० मा मावली घर आएकी संखुवासभाकी ६ बर्षिया बालिक ऐलिजा न्यौपानेको आमा रोपाइँमा व्यवस्त भएको समयमा खोल्सीमा डुबेर मृत्यु भएको हो । त्यसैगरी मेचीनगर १३ स्थित फुलवासा खोलामा डुबेर मेचीनगर १२ स्थित माता पाथिभारा टोलका गंगाराम प्रसाईको तीन वर्षिय छोरा अजिता प्रसाईको मृत्यु भयो ।
भने शिवसताक्षी ५ स्थित हवल्दार चोकमा आफन्तको घरमा गएको बेला ९ वर्षिय सौगात चापागाँईको घर नजिकै डुबेर मृत्यु भयो ।
हिजो मात्रै सुनसरीको दुहबी नगरपालिका २ का सलिब मियाको ४ बर्षीया छोरा जुगेर मियाको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । घर नजिकै रहेको पोखरीमा डुबेर घाइते भएका उनलाई तत्काल उद्धार गरी उपचारको लागि सामुदायिक अस्पताल दुहवी हुँदै थप उपचारको लागि बिराट टिचिङ अस्पताल पठाईएकोमा उपचारकै क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।
त्यसैगरी उदयपुरको रौतामाई नगरपालिका–७ का १४ बर्षीय बालकको बाढीले बगाएर मृत्यु भएको छ । सोमवार राती १० बजेको समयमा छाउरे खोलामा अचानक बाढी आएर घरमा सुतिरहेका आमा सुनिता तामाङ र छोरा आर्यन तामाङलाई बगाएकोमा प्रहरी चौकी सुकौराबाट खटिएको प्रहरी टोली र स्थानीयवासी समेतको सहयोगमा आमालाई जिवितै उद्धार गरिएको थियो भने छोरा आर्यनलाई बाढीले बगाएर बेपत्ता भएकोमा खोजतलास गर्ने क्रममा आज बिहान सवा ८ बजे त्रियुगा खोलाको किरानामा मृत अबस्थामा बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
त्यसैगरी सुनसरीको हरिनगरा गाउँपालिका–२ का अकबल मियाको १२ बर्षीय छोरा तोसिब मियाको नहरमा डुबेर मृत्यु भएको छ । आईतवार दिउँसो सवा ३ बजेको समयमा भुटाह सिसुवाधरमपुर सडक खण्डमा पर्ने नहरको डिलबाट चिप्लिएर नहरमा डुब्दा घाईते भएका मियालाई प्रहरी चौकी भुटाहाबाट खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल ईनरुवा पठाएकोमा उपचारकै क्रममा दिउँसो ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
त्यसैगरी पाँचथरको मिक्लाजुङ गाऊँपालिका ४ बस्ने लोक बहादुर राईको ९ बर्षिय छोरा दिवन राईको खोलाले बगाएर मृत्यु भएको छ । २७ गते बिहान पौने १० बजेको समयमा घरबाट बिद्यालय तर्फ जादै गर्दा सोही स्थानमा रहेको नुवाखोला तर्ने क्रममा खोलाले बगाई बेपत्ता भएका बालक राईको खोजतलासका क्रममा हिजो दिउसो १ बजेको ५ किलोमिटरको दुरीमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
त्यस्तै उदयपुर चौदण्डिगढि नगरपालिका ४ का ३५ बर्षीय मनकुमार तामाङको खोलाले बगाएर मृत्यु भएको छ । हिजो बिहान साढे १० बजे सोहि स्थानमा रहेको लामाखोला र कालिखोलाको दोभानमा आफुले पालेको कुकुरलाई खोलाले बगाउन लाग्दा कुकुर लाई बचाउन जादा आफै बगेर बेपत्ता भएका तामाङको शव आज बिहान साढे १० बजे १ किलोमिटरको दुरीमा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।