दमक/ दमकस्थित निम्स नेशनल हस्पिटलले आउँदो शनिबारदेखि न्युरो सर्जरी सेवा सञ्चालन गर्ने भएको छ । दमकमा नै पहिलो पटक यो अस्पतालले न्युरो सर्जरी तथा न्युरो सम्बन्धीको विशेषज्ञ सेवा शुरु गर्ने भएको अस्पतालको दाबी छ ।
अस्पतालले आज बिहिबार पत्रकार सम्मेलन गरी विर्तामोडस्थित विएण्डसी हस्पिटलको सहकार्यमा यो सेवा प्रदान गरिने जनाएको छ ।
अस्पतालका सञ्चालक समिति अध्यक्ष उमाकान्त आचार्यले बिरामीहरुको माग र सुविधालाई ध्यानमा राख्दै हरेक शनिबार न्युरो सर्जरी सेवाको ओपिडी सञ्चालनमा ल्याइने बताए ।
उनका अनुसार बिएण्डसी अस्पतालका न्युरो सर्जन चिकित्सकहरुले आलोपालो गरेर यो अस्पतालमा सेवा प्रदान गर्नेछन ।
यो सेवा अन्तर्गत टाउको र मेरुदण्डका समस्याहरुको निदान प्रमुख पर्छ । यसका साथै टाउको दुख्ने, माइग्रेन, ढाड तथा कम्मरको दुखाई, नशा च्यापिएको अप्रेशन आदि गरिनेछ । यो सेवाको पहिलो दिन २१ श्रावणमा ओपीडिमा न्युरो विशेषज्ञ सेवा निशुल्क प्रदान गरिने अस्पतालले जनाएको छ ।
पत्रकार सम्मेलनमा अस्पतालका अध्यक्ष आचार्य, उपाध्यक्ष मन्धरा चिमरिया पौडेल, सञ्चालक रवि न्यौपाने, नोबलचन्द्र गुरागाइँ लगायतको पनि उपस्थिती रहेको थियो ।
