दमक/ झापाको कमल गाउँपालिका वडा नं ६ मा प्रादेशिक आयुर्वेद अस्पताल सञ्चालनमा आएको छ । आज बुधबार एक नम्वर प्रदेश सरकारका स्वास्थ्य मन्त्री जयराम यादव र कृषी मन्त्री झलकसिंह दर्लामीले संयुक्त रुपमा सो अस्पतालको उदघाटन गरेका छन ।


अस्पतालका निमित्त कार्यालय प्रमुख डाक्टर अनिल कुमार यादवका अनुसार संघीय सरकारको २० करोड ६३ लाख रुपैयाँको लगानीमा सो अस्पतालको भौतिक संरचना निर्माण गरिएको छ । तीन तले सो भवन गत २०७८ असार २५ मा नै निर्माण पूरा भएको थियो ।
अस्पताल निर्माणका लागि स्थानीय सामाजिक तथा राजनीतिक व्यक्तित्व मणिकुमार भण्डारी लगायत छ जना दाताले दुई विगाहा १ धुर जमिन निशुल्क उपलव्ध गराएका थिए । अस्पताल उदघाटनमा जग्गादाता भण्डारीसहितका दाताहरुलाई समेत सम्मान गरिएको थियो ।
आयुर्वेदिक चिकित्सा सम्बन्धीको मेडिकल कलेज बनाउने गरी भवनको आवश्यक संरचना बनाइएको तथा आयुर्वेदिक उपचारसंगै दक्ष बैद्य यहीँबाट उत्पादन गर्ने लक्ष्य छ ।
छुट्टै बहिरङ्ग कक्षदेखि आयुर्वेदिक पद्धतिबाटै एक्स–रे, सघन उपचार कक्ष, एन आइसियू जस्ता आवश्यक कक्षहरु पनि बनाइएको छ । सबै वार्डहरु फराकिला छन् भने यहाँ योगा हलको पनि छुट्टै प्रबन्ध गरिएको छ । सोहि अस्पतालबाट नै प्रसुति सेवा पनि उपलव्ध गराउन सकियोस भनेर त्यस सम्बन्धीको कक्षपनि निर्माण गरिएको डा. यादवले जानकारी दिए ।
आयुर्वेद अस्पताल सञ्चालनमा आउने भएपछि त्यस आसपासका नागरिकमा उत्साह बढेको अस्पताल भवन रेखदेख समितिका संयोजक समेत रहेका जग्गादाता भण्डारीले बताए । अस्पताल भवनको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ साल भदौ ७ गते भवनको शिलान्यास गरेका थिए ।
गाउँपालिकामा प्रदेशस्तरिय आयुर्वेदिक अस्पताल सञ्चालनमा आउनु गौरवको बिषय भएको बताउँदै कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले अस्पतालबाट प्रदान गरिने सेवालाई गुणस्तरीय र विश्वसनिय बनाउँदै सर्वसाधारणहरुको आकर्षण बढाउन आवश्यक प्रचारमा गाउँपालिकाले जोड दिने बताएका छन ।

Facebook Comments Box