निरोज केदेमको परिवारमा पूर्ण रुपले शैक्षिक वातावरण थियो । बुबा स्व.विश्वबन्धन केदेम र आमा लक्ष्मी राई केदेम दुवै जना शिक्षण पेशामा । बुबा स्व. विश्वबन्धन चुलाचुलीस्थित जनता माविमा प्रधानाध्यापकको रुपमा लामो समय कार्यरत हुनुहुन्थ्यो । प्रधानाध्यापकबाट अवकाश पाएपछि पनि दुई कार्यकाल सम्म विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारीमा विताउनु भयो उहाँले । आमा पनि शिक्षण पेशामा । आर्थिक दृष्टिकोणबाट पनि मध्यमवर्गीय परिवार हो केदेम परिवार ।
२०३६ साल फागुन २३ गते शुक्रबार जन्मिनुभएका केदेमका अभिभावकनै पूर्ण शैक्षिक परिवार भएपछि केदेमको शैक्षिक यात्रा त अघि बढ्ने निश्चीत छदैैं थियो दाजु सरोज केदेमको प्रेरणाले राजनीतिक र सामाजिक क्षेत्रमा पनि उनलाई अघि बढायो । चुलाचुलीकै जनता माविबाट २०५१ सालमा एसएलसी उत्तीर्ण गर्नुभएका केदेमले दमक बहुमुखी क्याम्पसबाट मानविकी संकायमा स्नातक तह उत्तिर्ण गर्नुभएको छ।
विद्यालय उमेरदेखिनै प्रजातान्त्रिक विचारमा विश्वास गर्दै नेविसंघको सदस्य बनेका केदेमले नेविसंघमा होस वा पार्टीमा कहिल्यै राजनीतिक रुपमा कुनै पदीय लाभ लिने कोशिसनै गर्नुभएन । दमक क्याम्पसमा ५१ सालतिर नेविसंघ र यहाँको कांग्रेसको अवस्था नाजुकनै थियो । तर पनि केदेमलाई सानैदेखि दाजु सरोजको प्रेरणाले प्रजातान्त्रिक विचारमा आस्थावान बनाएको थियो । केदेमले स्मरण गर्नुभयो – मैंले कांग्रेस र प्रजातान्त्रिक व्यवस्थालाई बुझेर मन पराएको हँु । कसैको लहडमा होइन । दाजुले मलाई त्यो बुझाउनु भयो । अहिले उहाँ युकेमा हुनुहुन्छ म राजनीतिक र सामाजिक क्षेत्रमा दाजुलाईनै गुरु मान्छु ।
नेविसंघको राजनीतिमा सक्रिय हुँदा निरोजले दमक बहुमुखी क्याम्पसको स्ववियु चुनावमा ०५१/०५२ तिरनै स्ववियु उपसभापति पदको दाबेदारी प्रस्तुत गर्नुभएको थियो । चुलाचुली गाउँपालिकाको चुनावमा अध्यक्षका प्रत्यासी रहेका राजेन्द्र केरुङलाई समर्थन जनाउँदै उहाँले त्यसबेला नेविसंघमा त्यागको उदाहरण प्रस्तुत गर्नुभएको थियो ।
उहाँका सहपाठी र नेविसंघका सहयात्री धेरै नेता, कार्यकर्ताहरु अहिलेपनि कांग्रेस र भातृ संगठनहरुको अग्रभागमा नै छन तर निरोज किन गुमनाम त ? उहाँ भन्नु हुन्छ – समय परिस्थितीले कहिलेकंही कोहि अघि पछि हुनु अस्वभाविक होइन तर नियतवश कसैलाई सधैं गुमराहमा राखिनु चांहि पक्कै पनि राम्रो होइन । अहिले भने तरुण दलको नेतृत्वमा पार्टी र सम्पूर्ण तरुणहरुले आफूलाई जिम्मेवारी दिनेमा उहाँ विश्वस्त हुनुहुन्छ ।
०६१ सालतिर दमकमै स्नातक तहको अध्ययन पुरा गरेपछि केदेम छोटो समय काठमाडौं र इटहरीमा निजी क्षेत्रको जागिरे पनि हुनुभयो । तर परिवारको शैक्षिक माहौलले उहाँलाई अध्ययनको सिलसिलामा साइप्रसको अमेरिकानोस कलेजमा पुरयायो । स्नाकोत्तर तह अध्ययनका लागि पुग्नु भएका निरोज झण्डै साढे ३ बर्ष साइप्रसमा रहँदानै त्यहाँ एनआरएनले बैधानिकता पाएको हो ।
साइप्रसको एनआरएनको इतिहासमै पहिलो पटक त्यहाँ प्रजातान्त्रिक विधि चुनावका माध्यमबाट नेतृत्व चयन भयो त्यसबेला । उहाँ आफैं त्यहाँको कार्य समिति सदस्यमा निर्वाचित हुनुभयो । केदेम भन्नु हुन्छ – सायद स्नाकोत्तर तह यतैपनि गरिन्थ्यो होला तर देशको राजनीतिक अवस्था जर्जर थियो । स्वदेशमा भन्दा विदेशमा सुरक्षित हुने अवस्था थियो , पढाईका लागि पनि रोजगारका लागि पनि साइप्रसनै रोजियो । साइप्रसबाट नेपाल फर्किएपछि पनि उहाँले प्रजातन्त्रप्रतिको मोहलाई त्याग्न सक्नु भएन ।
पार्टीमा सक्रिय राजनीति नगरेपनि उहाँ सधैं प्रजातान्त्रिक आस्था र विचारमा अडिग रहनु भयो । नीति र सिद्धान्तको राजनीति गर्ने भएका कारण उहाँमा स्व. महामानव वीपि कोइरालाले भन्नु भएको राजासहितको प्रजातन्त्र आवश्यकता बोध भयो । र त्यस्तो एजेण्डा बोकेको पार्टीका रुपमा तत्कालिन राप्रपा नेपाल भएको महसुस गरेर केहि समय राप्रपाको युवक संगठनमा पनि आवद्ध रहनु भयो । तर कालान्तरमा पूर्व राजा ज्ञानेन्द्रले जनताको सर्वोच्चता भन्दा माथि रहने र प्रजातन्त्रलाइनै खतरामा पार्ने गरी राप्रपा नेपालले राजनीति गरिरहेको बुझेपछि प्रजातन्त्र मास्ने गतिबिधिका विरुद्ध खबरदारी गर्दै पुनः पुरानै घरका रुपमा रहेको कांग्रेसमै फर्किनु भयो ।
सामाजिक क्षेत्रमा सक्रिय रहनु भयो । दमकमै प्रगतिशील युवा तथा सामाजिक विकास संघको अध्यक्ष , रवि स्टेण्ड निर्माण समिति सचिव, चुलाचुलीमा किराँतीहरुको पहिलो राजा यलम्बरको सालिक निर्माण आर्थिक समिति संयोजक , श्री अन्तु मेमोरियल बोर्डिङ स्कूलको संस्थापकका रुपमा उहाँ क्रियाशील हुनुहुन्छ ।
तरुणहरुको संगठन नेपाल तरुण दल झापा क्षेत्र नं ५ को सहसचिव रहनु भएका उहाँको पृष्ठभुमी तरुण दलको नेतृत्वका लागि दाबेदारका रुपमा रहन योग्य हुँदा हुँदै पनि त्यस्तो लोलुपता राख्नु भएन । केदेम राजनीतिका कर्मथलो इलामको चुलाचुली पनि हो । चुलाचुलीको पुरानो बासिन्दा हुनुका नाताले केदेम नेपाली कांग्रेस चुलाचुली गाउँ समितिको सल्लाहकारका रुपमा हुनुहुन्छ ।
उहाँसंग कांग्रेसको नेतृत्वप्रति केहि गुनासा भन्दा पनि सुझावहरु छन् ।
उहाँको बुझाईमा पार्टी भित्रको ठुलो रोग भनेकै गुटबन्दी हो । नेतृत्वले जहिल्यै पनि कांग्रेस कार्यकर्ताहरुलाई गुट बनाउनमा प्रेरित गर्दा कांग्रेसले खुम्चिनु पर्ने अवस्था आएको हो । गुट बनाएर भाग खोज्ने प्रवृत्तीले कांग्रेसमा समस्या ल्याएको मेरो बुझाई हो – केदेम भन्नु हुन्छ । तरुण, विद्यार्थीलाई समय समयमा राजनीतिक रुपमा प्रशिक्षित गराएर जिम्मेवारी बाँडफाँड गरिदिए कांग्रेस चलायमान मात्रै होइन सधैभरी मुलुकको पहिलो राजनीतिक शक्तिका रुपमा कायम रहन सक्ने उहाँको बुुझाई छ ।
कार्यकर्तामा प्रशिक्षणको अभाव र गुटबन्दीकै कारण ३६४ दिन कांग्रेस हुने र चुनावमा एक दिन भोट हाल्ने बेलामा अर्कै पार्टीलाई भोट हाल्ने समस्याले कांग्रेस अहिले विरामी अवस्थामा रहेको भन्दै केदेम भन्नुहुन्छ –यो रोगलाई नेतृत्वले हटाउन आवश्यक छ । पार्टीले कार्यकर्ताको क्षमता बढाएर र क्षमताको मुल्याङकन गरेर जिम्मेवारी दिनु पर्छ । उहाँको बुझाईमा पार्टी नेतृत्वले तरुण दल र नेविसंघलाई प्रशिक्षित गराएर कुनै न कुनै जिम्मेवारी दिनुपर्छ । जिम्म्ेवारीवारीबिहिन अवस्थामा कार्यकर्तालाई राख्न नहुने केदेमको धारणा छ ।
.