दमक/ दमकस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले १३ औं बार्षिक साधारण सभा औपचारिक रुपमा समापन गरेको छ । सोमबारदेखि शुरु भएको साधारण सभा आज शुक्रबार मोवाइल बैंकिगंको उपयोग गर्ने उत्कृष्ट सदस्यहरुलाई सम्मान गर्दै समापन भएको हो ।


संस्थाको कार्यालय परिसरमा आयोजित औपचारिक कार्यक्रममा ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालका अध्यक्ष सिताराम खतिवडा, युवा व्यवसायी फौदसिंह गहतराज लगायतको उपस्थितीमा सहकारीका प्रवन्ध निर्देशक अरुण भण्डारीले मोवाइल बैंकिगं प्रयोगकर्ता ३० जनालाई सम्मान गरे । सदस्यहरुको सुविधालाई मध्यनजर गर्दै आलोपालो प्रणालीबाट सदस्यहरुलाई सहभागी गराई सञ्चालन गरिएको साधारण सभामा कूल ३ हजार ८ सय सदस्यहरु सहभागी भएका जनाइएको छ । करिब ४ हजार ५ सय हाराहारी सदस्य रहेको सो संस्थाले गत आर्थिक बर्ष सम्ममा १६ करोड ९० लाख रुपैयाँ शेयर पुँजी कायम गरेको निर्देशक भण्डारीले बताए ।
संस्थाले गत आर्थिक बर्षमा एक अर्ब ९५ करोडको कारोबार गर्दा एक करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको जनाइएको छ । संस्थालाई प्रविधि मैत्री बनाइएको बताउँदै आगामी दिनमा एटिएम सुविधा समेत सञ्चालनमा ल्याउने योजना रहेको संस्थाले जनाएको छ । समापन कार्यक्रममा संस्थाका लेखा सपरिवेक्षण समिति संयोजक डिल्लीराम मुखियाले पनि बोलेका थिए ।

Facebook Comments Box