भुपालराज कटुवाल झापाको व्यवसायिक तथा सामाजिक क्षेत्रमा स्थापित नाम हो । धर्मप्रति आस्थावान र समाजसेवाको कार्यमा तन, मन र धन ३ वटै  तवरबाट लागिपर्ने उनको स्वभाव छ ।
गौरादह नगरपालिकाको वडा नं २ का स्थायीबासिन्दा कट्वाल बुबा कर्ण बहादुर कट्वाल र आमा.सुस्मा कट्वालको कोखबाट जन्मिएका हुन् ।
उनको पारिवारिक सहयात्रासंगै व्यवसायिक तथा सामाजिक गतिबिधीमा संगसंगै साथ दिईरहेकी छिन श्रीमती विनिता अधिकारी ( कट्वालले) । कटुवाल झापाका पुराना पेट्रोलियम व्यवसायीका रुपमा चिनिएका उनी मेची पेट्रोलियम डिलर्स एशोसिएशनका उपाध्यक्ष पनि हुन् । पेट्रोलियमसंगै घर जग्गाको कारोबारमा पनि संलग्न उनी फेवा लुब्रिकेन्ट्सका पनि सञ्चालक हुन् । उनी वैष्णुदेवी कन्स्ट्रक्सनका पनि सञ्चालक हुन् ।
सामाजिक रुपमा उनी उनी बिषहरी शिवालय मन्दिर गौरादहको संस्थापक अध्यक्ष, गौरादह खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नवनिर्वाचित सदस्य , लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ एवानका जोन चेयर पर्सन रहेका उनी भर्खरै लायन्स क्लब गौरादहको अध्यक्षको जिम्मेवारीबाट मुक्त भएका छन् ।
ले विगत करिब ५/६ बर्ष अघिनै गौरादहका दृष्टिबिहन जुम्ल्याहा राम लक्ष्मण भुजेललाई आजिवन बार्षिक ६ हजार रुपैयाँका दरले जिवनयापनमा सहजताका लागि नगद सहयोग गर्ने घोषणा पनि गरिसकेका छन् । समाजसेवाबाटै आफूलाई सन्तुष्टि मिलेको बताउने कट्वाल व्यवसाय संगसंगै राजनीति र सामाजिक काममानै आफ्नो जिवन समर्पण गर्न चाहेको बताउँछन् । प्रस्तुत छ कटुवालसंगको कुराकानीको निष्कर्ष–

व्यवसायसंगै यतिधेरै सामाजिक संघ संस्थाहरुमा पनि आवद्ध हुनुहुन्छ समयको व्यवस्थापनक कसरी गर्नुहुन्छ ?

हो मलाई केहि शुभचिन्तकहरुले यस बिषयमा जहिलेपनि सौहार्द र आत्मियतापूर्वक यो प्रश्न गर्ने गर्नुहुन्छ , समय भन्ने कुरा कसैको नियन्त्रणमा हुँदैन । समय आफ्नै गतिमा निरन्तर अघि बढिरहन्छ । हामीसंग जति समय छ त्यसैलाई हामीले ठिक ढंगबाट उपयोग गर्ने हो । मेरो हकमा भन्नु हुन्छ भने गौरादहमा मेरो पम्प घरमै छ । दमकमा पनि माता पाथीभरा सप्लायर्स मेरो पेट्रोल पम्पनै हो । एउटा पम्प घरमा भएका कारणले म बिहान बेलुका घरमै बसि बसि यसको कारोबार हेर्छु । म एक्लो पनि त छैन मेरो श्रीमति विनिताले पनि कारोबारमा सघाउँछिन् । बेला बेला दमकमा पम्पको हिसाब किताब हेर्छु । सबै क्षेत्रमा दक्ष र अनुभवी कर्मचारी छन् । उनीहरुले आफ्नो जिम्मेवारी पूरा गरिहाल्छन । म कारोबार विवरणमा अपडेट हुन्छु । त्यसकारण यहि बीचमा समय निकालेर म सामाजिक संघ संस्थाहरुका बैठक, छलफलहरुमा सहभागी हुने गर्छु ।

तपाइँको प्राथमिकता चांिह समाजसेवा वा व्यवसाय ?

मलाई यि दुवै कुरा उत्तिकै महत्वका लाग्छन् । म एउटा धार्मिक आस्थावान मान्छे । मलाई समाजसेवाको लागि प्रेरणा दिनु हुने स्वयम मेरो बुबा हुनुहुन्छ । बुबाले गौरादह र तोपगाछीका दुई वटा स्कूलमा अक्षयकोष स्थापना गर्ने, सरस्वतीको मन्दिर निर्माण गरिदिने जस्ता काम पनि गर्नुभएको छ ।
उहाँको प्रेरणाले नै मैंले जहिलेपनि सेवामा आफूलाई समर्पित गर्न पाउँदा नै आफ्नो जिवन सार्थक र सफल भएको महसुस गर्छु । मैंले व्यवसायलाई पनि महत्व नदिदो हुँ त म संग समाजसेवाका लागि चाहिने आर्थिक स्रोतनै हुने थिएन र मैंले आवश्यक परेको ठाउँमा साथीभाई , कोहि पनि असहाय, विपन्नहरुलाई सहयोग गर्न सक्ने थिइँन । राम्रो नियत राखेर र साँच्चिकै दुख पाएर बेसहारा बन्नु पर्ने अवस्थाका वास्तविक गरीब दुखी कोहि पनि म कहाँ आउँदा आज म संग छैन त्यसकारण सहयोग गर्न सक्दिन भन्नु पर्ने क्षण आएको मलाई स्मरण छैन ।
हेर्नुहोस एउटा भनाई छ हामी खाली हात आएका हौं र खाली हात जान्छौं । मैंले व्यवसाय गरेर कमाएर मात्रै मलाई सन्तुष्टि हुँदैन र मैंले ऋण काढेर पनि समाजसेवामा खर्च गर्न सक्दिन । त्यसकारण म समाजसेवा र आफ्नो व्यवसायलाई एकैसाथ उत्तिकै महत्व दिएर अघि बढाउन चाहन्छु ।

तपाइँ गौरादहको स्थायीबासिन्दा हुनुहुन्छ , राजनीतिक क्षेत्रमा पनि क्रियाशील हुनुहुन्छ स्थानीय सरकार आएको दुई बर्ष वित्यो गौरादहमा स्थानीय सरकारको काम सन्तोषजनक नभएको गुनासो छ नि के लाग्छ ?

हो , म राजनीतिक रुपमा लोकतन्त्रप्रति विश्वास राख्ने नेपाली कांग्रेसमा आवद्ध छु । म राजनीतिक रुपमा कुनै जिम्मेवारीमा पनि छु नेपाली कांग्रेसको । हाम्रो गौरादह नगरमा हाम्रो पार्टीले नगर प्रमुख पदसहित केहि सिट जितेर अल्पमतमा परेको हो । बहुमत साथीहरु अन्य राजनीतिक दलबाट जित्नु भयो । दलीय आस्था र विचार भन्दा माथि उठेर जनप्रतिनिधिहरुले सोच्नु पर्छ । जनताको म्याण्डेड कोहि कसैलाई एकल रुपमा अघि बढ्ने खालको छैन गौरादहमा । खास गरी तत्कालिन एमाले र हाम्रो पार्टीलाई मिलेर संगसंगै सरकार चलाउने मतादेश नगरबासीहरुले दिनु भएको हो । तर आज दुखको साथ भन्नुपर्ने अवस्था आएको छ ।
जनप्रतिनिधिहरुले मिलेर स्थानीय सरकार चलाउन सक्नु भएन । जनताका गुनासाहरु धेरै बाहिर आएका छन् । हामीले चांिह हाम्रो पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई यसबारेमा आवश्यक सुझाव दिदैं पार्टीले निर्देशन पनि गरिसकेको छ । जनताको गुनासो नआउने होइन आउँछ तर त्यसलाई सम्बोधन गर्ने र समयमै उचित निकास दिने काम जनप्रतिनिधिहरुको हो ।

गौरादहको उद्योग व्यवसाय क्षेत्रमा यहाँको समृद्धिको के सम्भावना देख्नु हुन्छ ?

गौरादह एउटा ग्रामिण तथा शहरोन्मुख नगरपालिका हो । नगरपालिका घोषणा भएर पनि यहाँका कतिपय ठाउँहरुको अवस्था अझै पनि नाजुकनै छ । तथापी यहाँका बासिन्दाको आय आर्जनका लागि यहाँ कृषि व्यापारको उद्यमहरु चलाउन सकिन्छ । यहाँ पर्यटकीय विकासको सम्भावना पनि उत्तिकै छ । त्यसलाई सक्षम र सफल नेतृत्वको माध्यमबाट साकार पार्न सकिन्छ । कृषिका अतिरिक्त अन्य उत्पादनमुलक उद्योगहरु मझौला तथा साना उद्योगहरु यहाँ चलाउन सकिन्छ । म आफैंपनि आवद्ध रहेको फेवा लुब्रिकेन्ट्सको उत्पादन यहाँ हुन्छ । जसले २५÷२६ जनालाई गाउँमै रोजगारीको अवसर दिएको छ ।
यस्ता सम्भावनाहरु धेरै छन् । सम्भावनाहरुको पहिचान गर्दै व्यवसायिक तथा उद्यमको वातावरण सिर्जना गर्न सकिए यहाँको समृद्धि सम्भव रहेको मैंल देखेको छु । पहुँचका हिसाबले पनि गौरादह विशिष्ट व्यक्तिहरुको आफ्नै नगर हो । उहाँहरुलाई पनि झकझकाउने सक्षम नेतृत्व गौरादहलाई चाहिएको छ ।

Facebook Comments Box