दमक/ नेपालमा यस अघि उन्मुलन भइसकेको भनिएको हात्तीपाइले, कुष्ठरोग लगायतका उपेक्षित उष्णप्रदेशीय १० किसिमका रोगहरुको उपचार तथा रिफरल सेन्टरको काम गर्ने उद्धेश्यले दमकमा एकीकृृत उपचार कक्षको उदघाटन गरिएको छ ।


फेयर मेड नामक गैह्रसरकारी संस्थाको सहयोगमा दमक अस्पतालमा स्थापना गरिएको सो कक्षको आइतबार औपचारिक रुपमा उदघाटन गरिएको हो ।

सरकारले उन्मुलन भएको घोषणा गरिएका छाला सम्बन्धिका ति रोगहरु पूर्वी तराईका झापा, मोरङ र सुनसरीमा पछिल्लो समय बढीरहेको तथ्याङक सार्वजनिक भएपछि विश्व स्वास्थ्य संगठनको समेत ध्यान त्यस तर्फ केन्द्रित भएकाले ति रोगहरुको उपचारमा ध्यान गएको हो ।

दमक नगर प्रमुख रामकुमार थापाले सो कक्षको उदघाटन गर्दै सो सेन्टरबाट दमकबासीले मात्रै नभएर आसपासका अन्य जिल्लाका पालिकाबासीले समेत लाभ लिन सक्ने बताए । उनले दमक अस्पतालको व्यवस्थापन र सेवा सुविधाका बिषयलाई लिएर सामाजिक सञ्जालमा आएका टिका टिप्पणीप्रति आफनो गम्भिर ध्यानाकर्षण भएको जनाउँदै अहिले अस्पतालको सेवा सुविधा चुस्त दुरुस्त र प्रभावकारी बनाउँदै सवल रुपमा व्यवस्थापन गर्ने बिषयमा सिंगो नगरपालिका कटिबद्ध रहेको उल्लेख गरे । उनले अस्पतालको नयाँ भवन निर्माणलाई पूर्णता दिएर आवश्यक पर्ने अन्य उपकरण तथा बन्दोबस्तीका सामग्रीहरुको व्यवस्थापन काममा लागेको पनि जनाए ।
कार्यक्रममा दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाइँले रोग लागेपछि उपचार गर्नु आवश्यक भएपनि रोग लाग्नै नदिने उपायहरुको अवलम्बन गरिनु आवश्यक रहेको चर्चा गरिन । उनले सामाजिक चेतनाको बिकासका माध्यमबाट रोगको निदानसंगै रोकथामका लागि योगदान दिन सकिने कुरामा ध्यान दिन स्वास्थ्यकर्मी र सरोकारवालाहरुलाई आग्रह गरिन ।
कार्यक्रममा फेयर मेडकी राष्ट्रिय संयोजक निर्मला शर्माले दमक नगरपालिकाका सिनियर अहेब नगेन्द्र भट्टराईलाई सो कक्षमा आवश्यक स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेकी थिइन । उनले त्यस अवसरमा नगरपालिका र दमक अस्पतालले फेयर मेडसंगको सहकार्यलाई निरन्तरता दिदैं स्वास्थ्य सेवा अझ उपलब्धीमुलक र प्रभावकारी बनाउने विश्वास व्यक्त गरिन ।
उदघाटन कार्यक्रममा नगर कार्यपालिका सदस्यहरु ख्यामकुमारी परियार, शारदा भट्टराई, दमक १ का वडाध्यक्ष हरी न्यौपाने, वडा नं ७ का वडाध्यक्ष भिम प्रसाद पौडेल, वडा नं ८ का वडाध्यक्ष दिपेश दाहाल,  ९ का वडाध्यक्ष कुबेर भट्टराई लगायत दमकस्थित आम्दा अस्पतालका मेडिकल सुपरिण्टेन्डेन्ड डा. प्रकाश शर्मा, नमस्ते पब्लिक हस्पिटलका मेसु डा. बेदनिधी खतिवडा, निम्स नेशनल हस्पिटलका मेसु नविन सिंह लगायत स्वास्थ्य सरोकारवालाहरु सहभागी थिए । कार्यक्रमको सञ्चालन दमक नगर स्वास्थ्य निरिक्षक बद्री बरालले गरेका थिए ।

Facebook Comments Box