निष्कर्ष न्यूज विश्लेषण
दमक/ दमक उद्योग वाणिज्य संघको आगामी ३ बर्षे कार्यकालका लागि हुने चुनावी कार्यक्रमसहितको २८ औं साधारण सभाको मिति आउन लगभग १० दिन मात्रै बाँकी छ । ६ भदौमा संघको साधारण सभा हुँदैछ भने त्यसैको लगभग दुई साता भित्रै नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम हुनेछ ।   अघिल्ला निर्वाचनहरुमा साधारण सभाको मिति अगावै प्राय नेतृत्वका लागि चुनावी मैदानमा उत्रिने व्यवसायीका उम्मेद्वारहरुको टुंगो लागिसकेको हुन्थ्यो । यस पटक भने संघको निर्वाचनका लागि उम्मेद्वार छान्न दलहरु अलमल गरिरहेका छन वा उम्मेद्वारको टुंगो लगाएर पनि औपचारिक घोषणाका लागि एक अर्कालाई पर्खिरहेका हुन ? भन्ने द्धिविधा छ ।

सत्तारुण नेकपाले संघको निर्वाचनका उम्मेद्वार चयन गर्ने आन्तरिक रुपमा औपचारिक प्रकृया चलाएको लगभग १० दिन भन्दा बढी समय वितिसकेको छ । तर अझै औपचारिक रुपमा उम्मेद्वारहरुको नाम टुंगो लगाउन सकिरहेको छैन । अन्य दलीय निर्वाचनमा दमकमा तत्कालिन एमालेनै पहिलो शक्तिका रुपमा रहेको भएपनि पटक पटकको व्यवसायीहरुको चुनावको मत परिणामलाई हेर्दा पहिलो शक्तिका रुपमा अझै सम्म स्थापित हुन सकेको देखिँदैन ।

अघिल्लो निर्वाचनमा समेत तत्कालिन एमालेले उम्मेद्वारी चयनमा ठूलो झमेला मात्रै ब्यहोरेन राजनीतिक रुपमा आफूहरुसंग विद्रोह गरेका केही व्यवसायी नेताहरुको नेतृत्वमा बनेको तत्कालिन अवस्थाको स्वतन्त्र प्यानलका उम्मेद्वारहरुले अध्यक्षसहित मुख्य ३ पदमा चुनाव जितेपछि अहिले पनि नेकपाले त्यो झट्का स्मरण गरेरै उम्मेद्वार चयनमा ढिलाई गरेको हो कि भन्ने एकथरी व्यवसायीहरुको अनुमान छ ।
तर त्यसताका पार्टीको मूलधारबाट बाहिरिएर चुनाव जितेकाहरुनै अहिले नेकपामा संघको निर्वाचनका लागि उम्मेद्वार सिफारिस गरि पाउँ भन्दै आवेदन गर्न पुग्नुलाई पार्टीको तत्कालन नेतृत्वको जितका रुपमा लिने व्यवसायीहरुको पनि कमि छैन ।

नेकपा निकटको व्यवसायीका एक जना स्थानीय नेताले भने – हामीलाई एक हिसाबले खुशी पनि लागेको छ हिजो वहाँहरु पार्टी केही होइन भन्दै अवमुल्यन गरेर बाहिरिनु भयो, तर आज पार्टीको निर्देशन अनुसार पार्टीले तोकेको प्रकृया भित्र छिरेर उम्मेद्वारको सिफारिसका लागि आउनु भएको छ ।
संघको अध्यक्षका लागि नेकपा भित्र आन्तरिक रस्साकस्सी चलिरहँदा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस भने सत्तारुढ संघीय समाजवादी पार्टी र नयाँ शक्ति पार्टी नेपालबीचको एकतापछि बनेको समाजवादी पार्टी नेपाल, दमकको दलीय निर्वाचनमा दोश्रो हैसियत कायम राख्न सफल राप्रपा र संघीय लिम्वुवान मञ्च लगायतका नेकपासंग असन्तुष्ट दलहरुको मोर्चा बनाएर चुनावी मुकाविला गर्ने दाउमा छ ।
दलहरु उम्मेद्वारको टुंगो लगाउन जति जति ढिलाई गर्दैछन त्यतिनै व्यवसायीहरुमाझ असन्तुष्टिको स्वर पनि चर्को रुपमा सुनिन थालेको छ । यसपटक तुलनात्मक रुपमा नेकपा निकटका व्यवसायीहरुमा असन्तुष्टिको स्वर धेरै आईरहेको छ ।
यसलाई पार्टी तथा व्यवसायीहरुका एकाध नेतृत्वले ठूलो पार्टी भित्र थोर बहुत असन्तुष्टि स्वभाविक भनि बचाउ गरेपनि व्यवसायीहरुले भने पार्टी नेतृत्वको अपरिपक्व कदम भनिरहेका छन् । उनीहरुले उम्मेद्वार चयनका लागि व्यवसायिक बिषय र संघको जिम्मेवारी सम्हालेको अनुभव र ऐतिहासिकतालाई ख्यालै नगरी उम्मेद्वारका लागि आवेदन माग्ने र छनौट प्रकृयाका नाममा अन्तरवार्ता लिएको बिषयको आलोचना गरेका छन् । उम्मेद्वारीका लागि पार्टीमा आवेदन गरेर पार्टी निर्णय कुरिरहेका एक जना व्यवसायी नेताले भने संघ संस्थामा उम्मेद्वारी सिफारिस गर्दा अनुभव र त्यसमा उसले गरेको योगदानलाई पहिलो आधार बनाइनु पर्नेमा गोलमटोलमा सबैसंग आवेदन लिने कामले उत्साहित बनाउनुको सट्टा निराशा जगाएको बताए ।
कुन – कुन पदमा कस–कसको दाबी ?
सत्तारुढ नेकपामा अध्यक्षका लागि संघका अध्यक्ष राजेन्द्र ढकाल र वरिष्ठ उपाध्यक्ष विमल खतिवडाले हालेको आवेदनमाथि पार्टी नेताहरु छलफल भईरहेको भन्दै ठोस निर्णय बाहिर ल्याउन अलमल गरिरहेका छन । अध्यक्ष पदमा पार्टी भित्र खतिवडाको पक्षमा लविङ गर्नेहरु तुलनात्मक रुपमा ढकाल पक्षधर भन्दा धेरै रहेका स्रोतको भनाई छ ।

अध्यक्ष पदमा कांग्रेसको नेतृत्वमा बन्ने संयुक्त प्यानलबाट गोकूल श्रेष्ठलाई पहिलो सम्भावित उम्मेद्वारका रुपमा हेरिएको छ भने संघका पूर्व अध्यक्ष प्रकाश प्रसाइँ, संघका पूर्व तृतीय उपाध्यक्ष बबरजंग थापा किरण पनि संघको विधान अनुसार अध्यक्ष पदका लागि योग्य उम्मेद्वार हुन् । श्रेष्ठले यस अघि संघको प्रथम उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन भने उनले अघिल्लो निर्वाचनमा अध्यक्षका लागि ढकालसंग प्रतिस्पर्धा गरेका थिए । वरिष्ठ उपाध्यक्षमा नेकपाबाट संघका वर्तमान प्रथम उपाध्यक्ष देवी प्रसाद गुरागाइँ ( गोपाल ) र राष्ट्रिय वाणिज्य संघका केन्द्रिय सदस्य समेत रहेका राजकुमार श्रेष्ठको दाबी रहेको बताइएको छ ।
लोकतान्त्रिक प्यानलमा पदीय भागवण्डाको क्रम चलिरहेकाले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेद्वारको नाम यकिन नभएपनि हाल सम्म सो पद राप्रपालाई दिने तयारी रहेको बताइएको छ । संघका वर्तमान कार्य समिति सदस्य राजकुमार योङयालाई सो पदमा राप्रपाले अघि सार्न सक्ने सम्भावना औंल्याइएको छ । प्रथम उपाध्यक्षका लागि नेकपा भित्र करीब आधा दर्जन उम्मेद्वारका आकांक्षीले पार्टीमा उम्मेद्वारी सिफारिसका लागि आवेदन गरेका बताइएको छ ।

नेकपामा सो पदका लागि हालका द्धितीय उपाध्यक्ष युवराज घिमिरे, कार्य समिति सदस्य टिका प्रसाइँ, पूर्व कार्य समिति सदस्य महेन्द्र खड्का, घनश्याम खनाल र गंगा ढकालले आवेदन गरेका नेकपा स्रोतले जनाएको छ । कांग्रेस नेतृत्वको प्यानलले सो पद समाजवादी फोरम र नयाँ शक्तिबीचको एकतापछि बनेको समाजवादी पार्टी नेपालका लागि प्रस्ताव गरिरहेको छ । नेकपाबाट संघका वर्तमान कार्य समिति सदस्य तथा द्धितीय उपाध्यक्षमा ज्ञानु पौडेलको एकल आवेदन परेकाले उनको उम्मेद्वारी पक्कापक्की जस्तै छ । सो पदमा कांग्रेस नेतृत्वको प्यानलले कसलाई उम्मेद्वार बनाउने हो भन्ने यकिन भईनसकेको बताइएको छ । अन्य दलहरुसंग पनि छलफल चलिरहेकाले सो पदका लागि उम्मेद्वारको यकिन भई नसकेको कांग्रेस निकट स्रोतले जनाएको छ । तृतीय उपाध्यक्षका लागि नेकपाबाट संघका वर्तमान कार्यसमिति सदस्य एवम् होटल व्यवसायी संघका अध्यक्ष राजेन्द्र दंगाल, संघका वर्तमान कार्य समिति सदस्य विमल नेपाल, पूर्व कार्य समिति सदस्य पशुपति बराल लगायतले इच्छा राखेका बताइएको छ भने कांग्रेस नेतृत्वको प्यानलबाट सो पदमा व्यवसायी महिला नेतृ एवम संघकी वर्तमान कार्य समिति सदस्य रमा लिम्बु उम्मेद्वार बन्ने पक्कापक्की जस्तै भएको छ । सो निर्वाचनमा पदाधिकारीमा उम्मेद्वार बन्ने तयारीमा रहेकी लिम्बु एक मात्रै महिला उम्मेद्वारका रुपमा रहने सम्भावना बढेको छ । उनीबाहेक कोही पनि महिलाले पदाधिकारीमा दाबी पेश नगरेका बताइएको छ ।

संघको लेखा समिति संयोजकमा नेकपाबाट खोम प्रसा वगाले , कांग्रेसबाट पारसमणी आचार्य लगायतको नाम चर्चामा छ भने संघको कार्य समिति सदस्यमा हाल सम्म नेकपाका मात्रै उम्मेद्वारको नाम चर्चामा छ । नेकपामा कार्य समिति सदस्यका लागि महिला कोटाबाट कविता पौडेल (अधिकारी) र लक्की सिटौलाको नाम बाहिर आईरहेको छ ।
वस्तुगतबाट श्रेष्ठ र नेपाल पक्का
यसैबीच संघको निर्वाचनमा वस्तुगत संघहरुका तर्फबाट पनि धमाधम सदस्य पदका लागि उम्मेद्वार टुंगो लाग्न थालेको छ । मोवाइल व्यवसायी संघको तर्फबाट भेनस श्रेष्ठलाई उम्मेद्वार बनाउने संघले सर्वसम्मत निर्णय गरिसकेको छ भने अटो मोवाइल्स व्यवसायी संघबाट प्रकाश नेपालको नाम सर्वसम्मत निर्णय भएको छ । अटो मोवाइल्सका अध्यक्ष घनश्याम खनालले नेपाललाई सर्वसम्मत संघको तर्फबाट उम्मेद्वार बनाउने निर्णय भएको जानकारी दिए । सो संघमा अन्य २ जना दाबेदारले नेपाललाई समर्थन जनाउँदै सर्वसम्मत रुपमा उम्मेद्वार बनाउने शुक्रबार निर्णय गरेका हुन् । त्यसैगरी रेडिमेड व्यवसायी संघको तर्फबाट वस्तुगत कोटामा कार्य समिति सदस्यका लागि सन्तोष पौडेललाई उम्मेद्वार बनाउने निर्णय भएको पनि सार्वजनिक भईसकेको छ ।

Facebook Comments Box