निष्कर्ष न्यूज
दमक/ दमकस्थित मेची सहकारी संस्थाको आसन्न २३ औं बार्षिकोत्सव तथा २५ औं साधारण सभामा प्रस्तुत हुने बार्षिक प्रतिवेदन आज सार्वजनिक गरिएको छ । संस्थाको कार्यालयमा पत्रकारहरुसंगको सक्षिंप्त अन्तरक्रियापछि कस्मिक पार्टी प्यालेसमा आयोजना गरिएको औपचारिक समारोहका बीच प्रतिवेदन सार्वजनिक गरिएको हो ।
संस्थाका अध्यक्ष नारायण प्रसाद भट्टराईको अध्यक्षता र प्रदेश नं १ सांसद अर्जुन राईको प्रमुख आतिथ्यमा प्रतिवेदन सार्वजनिक गर्दै संस्थाका उत्कृष्ट सदस्य , कर्मचारीहरुलाई पुरस्कृत समेत गरिएको छ । प्रतिवेदनको सांसद राई, संस्थाका सल्लाहकार तथा दमक नगरपालिकाका मेयर रोमनाथ ओली, कृषि सहकारी संघकी केन्द्रिय उपाध्यक्ष मिना ढकाल लगायतले संयुक्त रुपमा संस्थाको ७९ पृष्ठ लामो बार्षिक प्रतिवेदन सार्वजनिक गरिएको हो ।

प्रस्तुत प्रतिवेदनमाथि भाद्र ११ गते सम्म शेयर सदस्यहरुले लिखित रुपमा राय, सुझाव र टिप्पणीहरु पेश गर्न आग्रह गरिएको छ । संस्थाका व्यवस्थापक खोमप्रसाद वगालेले उत्कृष्ट सुझाव दिने दश जना शेयर सदस्यहरुलाई जनही एक हजार रुपैयाँका दरले १२ भदौमा हुने साधारण सभामा पुरस्कृत गरिने जनाउ दिए ।
एक अर्ब ४५ करोडको वासलात
त्यस अघि पत्रकारहरुसंगको अन्तरक्रियामा अध्यक्ष भट्टराईले हाल सो संस्थामा ३ हजार ५ सय १४ जना शेयर सदस्य कायम रहेका र १४ करोड ५५ लाख ३९ हजार रुपैयाँको शेयर पुँजीसहित १ अर्ब ४५ करोड १७ लाख ४२ हजार ७५३ रुपैयाँको बार्षिक वासलात रहेको बताए । उनले बर्ष २०७६ लाई सदस्य बृद्धि बर्षका रुपमा मनाउँदै यसैबर्ष भित्र थप १ हजार ५ सय सदस्य संख्या पुरयाउने योजना पनि सुनाए । सदस्य संख्या विस्तार गर्दा एक व्यक्ति, एक प्रकृति एक सहकारीको नीति भित्र रहने प्रतिबद्धता पनि जनाए । अध्यक्ष भट्टराईले सरकारले सहकारीहरुका लागि तोकेको सन्दर्भ व्याजदरको मेची सहकारीले खुलेर स्वागत गर्दै यसको अक्षरस कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराए । उनले सहकारी संस्थाहरुलाई कानुनको परिधी भित्र राखेर सञ्चालन गर्ने गराउने वातावरण सिर्जना गर्न सहकारी र सञ्चार क्षेत्रसंग सहयोगका लागि आग्रह गरे ।
संस्थाकी सञ्चार तथा प्रकाशन उपसमिति संयोजक तथा उपाध्यक्ष गीता कुँवरको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा सदस्य विष्णु पोखरेलले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन नरपति पाण्डेले गरेका थिए ।
सदस्यको सुविधा बढाउने प्रस्ताव
प्रतिवेदनको सार संक्षेप प्रस्तुत गर्दै अध्यक्ष भट्टराईले संस्थाका शेयर सदस्यहरुले पाउँदै आएको सुविधालाई बढाउने प्रस्ताव गरे । स्वास्थ्य वीमा कार्यक्रम अन्तर्गत सदस्यलाई क्यान्सर, मिर्गौला र मुटु सम्बन्धिको उपचार सेवामा दिइँदै आएको ५० हजार रुपैयाँलाई विस्तार गर्दै सदस्यको पति÷पत्नीलाई २५/२५ हजार रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै सदस्यलाई प्राकृतिक विपत्तीमा दिईदै आएको सहयोग रकमलाई बढाएर १० हजार रुपैयाँ बनाउन प्रस्ताव गरिएको छ भने एकल महिलालाई एक पटकका लागि दिईआएको १ हजार रुपैयाँ शेयर बोनसलाई बढाएर ३ हजार रुपैयाँ बनाउने प्रस्ताव छ । ज्येष्ठ सदस्यको बार्षिक १ हजार २ सय भत्तामा १ सय रुपैयाँ थप गरिएको छ । मृत्युमा परिवारजनलाई दिईआएको काजकिरिया खर्च २५ हजार/२६ हजार रुपैयाँ बनाउने प्रस्ताव प्रतिवेदनमा गरिएको छ ।

घर मालिक बनाउने योजना
मेचीले ल्याएको सदस्य सुविधा अन्तरगतको सहकारी आवास कार्यक्रम अन्तर्गत यसैबर्ष २० वटा घर निर्माण सम्पन्न गरि घर नभएका संस्थाका शेयर सदस्य परिवारलाई उचित मुल्यमा किस्ताबन्दीमा ऋण तिर्ने गरी वितरण गर्ने योजनाको कार्यान्वयनमा जोड दिइएको छ । दमक ४ मा कूल १ विगाहा १६ कठठ जग्गा खरिद गरी कूल ४८ वटा घर बनाउने सहकारीको लक्ष्य छ ।
३ सहकारीसंग एकीकरण नजिक
सरकारले लिएको एकैप्रकृतिका सहकारी संस्थाहरुबीच एकीकरणको नीतिलाई कार्यान्वयनमा सघाउँदै सो संस्थाले मर्जर उपसमिति बनाई सो समितिले अन्य सहकारीहरुसंगको एकीकरण प्रकृयालाई अघि बढाएको पनि सहकारीका व्यवस्थापक खोम प्रसाद वगालेले जानकारी दिए । उनले विभिन्न ६ वटा सहकारीहरुसंग एकीकरणको प्रकृया शुरु भएकोमा तत्कालै ३ वटा सहकारी र मेचीका बीच मर्ज हुने सम्भावना रहेको खुलासा गरे ।
राज्यलाई झण्डै डेढ करोड
प्रतिवेदन सार्वजनिक कार्यक्रममा वित्तिय अवस्थाबारे जानकारी दिदैं संस्थाका व्यवस्थापक खोम प्रसाद वगालेले आर्थिक बर्ष २०७५÷०७६ मा सो संस्थाले लिएको लक्ष्य भन्दा बढीनै उपलब्धी हासिल गर्न सफल भएको बताए । उनका अनुसार शेयर पुँजीमा अघिल्लो बर्षको तुलनामा सो बर्ष १९.७१ , निक्षेपमा २१.९४, कोषमा ६५.९९ प्रतिशत बृद्धि भएको भएको पनि फेहरिस्त सार्वजनिक गरे । गत आवमा संस्थाले आयकर, ब्याज कर, कर्मचारी पारिश्रमिक कर लगायतका विभिन्न शीर्षकमा करिब १ करोड ४३ लाख रुपैयाँ कर बुझाएको पनि उल्लेख छ ।
सम्पादक पौडेलसहित दुई पत्रकार पुरस्कृत हुँदै
यसैबीच मेची सहकारीले बार्षिक साधारण सभाको अवसरमा प्रदान गर्दै आएको सहकारी सम्बन्धिका दुई पत्रकारिता पुरस्कारबाट यस बर्षपनि दुई जना पत्रकार पुरस्कृत गरिने संस्थाले जनाएको छ । संस्थाका संस्थापक अध्यक्ष गणेश प्रसाद बस्नेत स्मति पत्रकारिता पुरस्कारबाट पत्रकार डिकेश लामालाई पुरस्कृत गर्ने निर्णय भएको जनाइएको छ । लामा करीब डेढ दशकअघिदेखि स्थानीय पत्रकारितामा क्रियाशील छन् ।
पछिल्लो समय उनी नेपाल टेलिभिजनको सम्वाददाताका रुपमा कार्यरत छन् । त्यस्तै मेची सहकारी पत्रकारिता पुरस्कार निष्कर्ष न्यूजका कार्यकारी सम्पादक विष्णु पौडेललाई प्रदान गरिने संस्थाले घोषणा गरेको छ । करीब १४ बर्ष अघि झापाको पत्रकारितामा प्रवेश गरेका उनी हाल निष्कर्ष न्यूज साप्ताहिक तथा निष्कर्ष न्यूज डटकमको कार्यकारी सम्पादकका रुपमा क्रियाशील छन् ।