दमक/ झापाको दमकमा यातायात तथा ट्राफिक व्यवस्थापनको समस्या बढेको छ ।
दमकमा व्यवस्थित वसपार्क रहेपनि यात्रु चढाउन र ओराल्न जथाभावी यात्रुबाहक बस जथाभावी रोक्नाले यहाँको सवारी आवागमनमा समस्या छ । दमकको पश्चीम बस स्टेण्ड र पूर्वमा व्यवस्थित बसपार्क रहेको भएपनि पूर्व पश्चीम लोकमार्ग अन्तर्गत दमकका विभिन्न स्थानमा अचानक बस रोकेर यात्रु चढाउने गर्नाले यातायात आवागमनमा समस्या हुने गरेको हो ।
त्यस्तै दमकको जेसीज चोक, थाना रोड, बेलडाँगी रोड र बजार क्षेत्रमा जथाभावी रुपमा सडकमै एक्कासी सवारी रोक्ने समस्याका कारण सर्वसाधारणले समस्या झेल्नु परिरहेको हो । सडकमा सिटी रिक्सा, अटो, कार, पिक अप, जीप, भेन लगायतका सवारीहरुसंग कर असुल्ने प्रयोजनका लागि भिडभाड भएको स्थलमै एक्कासी सवारी रोक्नाले व्यस्त समयमा यातायातनै अवरोध हुने गरेको छ भने सडक दुर्घट्नाको जोखिम समेत उच्च भएको छ । दमक बजार क्षेत्रमा मालबाहक गाडीहरु व्यस्त समयमा व्यस्त सडक हुँदै प्रवेश गर्ने र घण्टौं सम्म सडक किनारमै रोक्नाले सर्वसाधारणको आवतजावतमा झनै कठिनाई भईरहेको छ । त्यस्तै दमकका निजी अस्पताल तथा क्लिनिकहरु अगाडी पनि निजी सवारी साधनहरु जथभावी रुपमा रोक्नाले दुर्घट्नाको जोखिम उच्च भएको हो ।
दमक नगरपालिकाले हालै यातायात तथा ट्राफिक व्यवस्थापन एवम् सहरी सुदृढीकरणका लागि छुट्टै कार्यविधि बनाएर यहाँको यातायात व्यवस्थापन गर्ने प्रयास गरेपनि त्यसको कार्यान्वयन पूर्ण रुपमा नहुँदा समस्या छ । ठाउँ ठाउँमा बाटो काट्नका लागि जेब्रा क्रस र अन्य ट्राफिक चिन्हका संकेत बोर्डहरु नहुँदा अल्मलिने अवस्था रहेको छ ।