दमक/   झापाको कमल गाउँपालिकास्थित कमल नगर अस्पतालले आज सोमबारदेखि स्वास्थ्य बीमा कार्यक्रमसहितको उपचार सेवा सूचारु गरेको छ ।


स्थानीय तहमा नयाँ जनप्रतिनिधिले कार्यभार सम्हालेसंँगै गरेको प्रतिबद्धता अनुसार बीमा कार्यक्रमको सेवासहित कमल नगर अस्पताल सञ्चालनमा ल्याइएको हो । अस्पतालबाट आज पहिलो दिन ३४ जनाले स्वास्थ्य जाँच तथा उपचार सेवा लिएका छन ।
अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनको पहिलो दिननै सोमबार (आज) आकस्मिक रुपमा सार्वजनिक बिदा परेपनि अस्पातलमा इमर्जेन्सीका अतिरिक्त ओपिडी सेवा सुचारु गरिएको स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालले बताए । ओपिडी जाँचका लागि आएका ३४ जना मध्ये ६ जनाले स्वास्थ्य बीमा कार्यक्रमको नियमानुसार थप उपचार प्रकृयाका लागि रेफर लिएका अस्पतालका कर्मचारी दिपक दाहालले जानकारी दिए ।
सरकारको नीति अनुसार तोपगाछी स्वास्थ्य चौकीलाई स्तरोन्नती गरेर हाल कमल नगर अस्पतालका रुपमा सञ्चालनमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले जानकारी दिए ।


स्वास्थ्य बीमाको सेवासहित तत्कालका लागि अस्पतालमा आउने बिरामीको सम्भव भएसम्म सोही अस्पतालमा उपचार गरिने र चिकित्सकहरुको सिफारिस अनुसार आवश्यक अन्य ठुला अस्पतालमा रेफर गर्ने गरी व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ ।
अस्पतालमा हाल एमबीबीएस र मेडिकल अफिसरसहित १३ जनाको जनशक्ति रहने र बिहान ८ बजेदेखि ६ बजे सम्म मात्रै सेवा प्रदान गरिने जनाइएको छ । बिरामीको चाप र आवश्यकतालाई मध्यनजर गर्दै सेवा समय बढाइनेछ– शाखा प्रमुख अर्यालले भने । तत्काल स्वास्थ्य बीमाको रेफर लिएर ठुला अस्पतालमा जानका लागि सर्वसाधारणलाई सहज हुनेछ । जनशक्ती र अन्य पूर्वाधार तथा उपकरणको व्यवस्था गरेर अस्पतालको सेवा विस्तार गर्दै लगिने शाखा प्रमुख अर्यालले बताए । अस्पतालमा तत्काल नियमित स्वास्थ्य परिक्षण तथा उपचार, एक्स रे, ल्याब सेवा, इसिजी लगायतका सेवा प्रदान गरिनेछ ।

Facebook Comments Box