दमक/दमक ६ स्थित साधना बचत तथा ऋण सहकारी संस्थाले साधारण सभाको अवसर पारेर उत्कृष्ट कारोबार गर्ने बृद्ध शेयर सदस्यसहित विभिन्न व्यक्तित्वहरुलाई सम्मान र पुरस्कार प्रदान गरेको छ ।

 

संस्थाले शुक्रबार आयोजना गरेको ८ औं साधारण सभामा बृद्ध शेयर सदस्यतर्फ मनोरथ आचार्य, बोधराज तिम्सिना र टिकादत्त भट्टराईलाई दोसल्ला ओढाएर सम्मान गरेको हो ।

सभाका प्रमुख अतिथी दमक ६ का वडाध्यक्ष टेकबहादुर थापाले उनीहरुलाई सम्मान गरे । त्यस्तै साधना उत्कृष्ट एसइइ छात्रवृत्ती पुरस्कारबाट निजी तर्फ एलेक्सी तुम्वापो र सामुदायिक तर्फबाट आदित्य दाहाललाई पुरस्कृत गरिएको हो । त्यसैगरी विभिन्न विधामा उत्कृष्ट बचत तथा कारोबार गर्ने सदस्यहरुलाई पनि पुरस्कृत गरिएको थियो ।

संस्थाका अध्यक्ष विष्णु प्रसाद नेउपानेको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला सहकारी संघका सञ्चालक सदस्य प्रेम कोईराला, दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल, साधना साकोसका निवर्तमान अध्यक्ष गोपाल गुरागाइँ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Facebook Comments Box