दमक/ झापा, सुनसरीसहित ४ जिल्लामा बढी प्रभाव देखिएको डेंगुका कारण देशभर ३ हजार ५ सय जना सर्वसाधारण पीडित भएका छन् । सन् २००४ मा नेपालमा पहिलोपटक एक विदेशी पर्यटकमा देखिएको यो रोगले यस बर्ष अहिले सम्मकै ठूलो रुप लिएको छ ।
डेंगुका कारण नेपालमा पाँच वर्षयता १० जनाको मृत्यु भएको तथ्यांक छ । वर्षा सुरु भएसँगै फैलिएको डेंगुको प्रभाव सबैभन्दा बढी सुनसरी, झापा, मकवानपुर र कास्की जिल्लामा देखिएको छ । केही समयअघि सुनसरीको धरानमा डेंगीले महामारीको रुप नै लिएको थियो । एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने डेंगी रोग काठमाडौंमा ५० जनामा देखिसकेको रोग नियन्त्रण महाशाखा प्रमुख डा. विवेककुमार लालले जानकारी दिए । सफा पानीमामात्र बस्ने यो लामखुट्टे दिउँसोको समयमा बढी सक्रिय हुने गरेको अनुसन्धानले देखाउँछ ।
लामखुट्टेले टोकेको एक हप्ताभित्रै डेंगी रोगको लक्षण देखापर्न थाल्छ । तर, चिकित्सकहरुकाअनुसार धेरै व्यक्तिमा भने लक्षण नै देखापर्दैन ।
झन्डै ७० प्रतिशत प्रभावितमा लक्षण देखा नपर्ने हुँदा जोखिम बढ्ने खतरा रहेको डा. लाल बताउँछन् ।
लक्षण
डेंगी रोग लागेपछि ज्वरो आउने, मांसपेसी दुख्ने, आँखाको गेडी दुख्ने, बेहोस हुने, वान्ता आउने तथा छाला चिलाएर रक्तश्राव हुनेलगायतका समस्या हुन्छ ।
के गर्ने ?
लक्षण देखापर्नासाथ आराम गर्ने, झोलिलो पदार्थ खाने तथा प्यारासिटामोलमात्र खाँदा पनि निको हुने महाशाखा प्रमुख डा. लाल बताउँछन् ।
तरपनि लक्षण देखापर्नासाथ जचाउन जानुपर्ने चिकित्सकहरुको सुझाव छ । घर वरपर सफा राख्ने, खानेपानीको उचित व्यवस्थापन गर्नेलगायतमा विशेष ध्यान दिने हो भने डेंगी रोग फैलन नसक्ने चिकित्सकहरुको भनाइ छ । यसकारण यसको जोखिम कम गर्न व्यक्ति आफैं सचेत हुनु जरुरी छ ।
सरकारले भने यसको नियन्त्रणका लागि विभिन्न कार्यक्रम गरिरहेको छ भने हरेक स्थानीय तहमा सरसफाइ अभियान पनि चलाइरहेको डा. लाल बताउँछन् ।