दमक / एकताको शुत्रमा बाँधिन सन्देश दिदैं हरेक बर्ष श्रीकृष्णजनाष्टमी पर्वको भोली पल्ट निकालिने रथ यात्रा आज दमकमा निकाल्ने तयारी पूरा भएको छ ।

rath.jpg

श्रीकृष्ण रथ यात्रा समितिले विभिन्न धार्मिक तथा सामाजिक संघ संस्थाहरुको सक्रिय सहभागितामा राधाकृष्ण मन्दिर परिसरबाट निकाल्ने सो रथयात्रालाई व्यवस्थित बनाउन बिहानैदेखि स्वयंसेवक टोलीहरु परिचालन भएका छन् ।

दिउँसो १ बजे निस्किने रथयात्राको स्वागतार्थ दमकका मुख्य सडक तथा बजार क्षेत्रमा आज लायन्स क्लबहरु, क्वीन्स इन्टरनेशनल दमक र पहिलो पाइला नेपालको संयुक्त सहभागितामा बिहानै सरसफाई कार्यक्रम गरिएको छ ।
लायन्स क्लब दमक इष्टर्न लायनका अध्यक्ष तुल्सीराम तिम्सिनाले रथयात्राको ऐतिहासिक र धार्मिक महत्वलाई मध्यनजर गर्दै दमककै प्रतिष्ठाका रुपमा रहेको दमक रथयात्रा सफल बनाउन लायन्सकर्मीहरु जुटेको बताए ।

सरसफाईमा दमकस्थित लायन्स क्लबहरुसंगै लखनपुरस्थित लायन्स क्लब लखनपुरले समेत सक्रिय सहभागिता जनाएको क्लबका अध्यक्ष ज्ञानु पौडेलले बताए । दमकमा क्वीन्स इन्टरनेशनलले पहिलो पटक धार्मिक सामाजिक उद्धेश्यका लागि सहकार्य गर्ने अवसर पाएको क्लबका अध्यक्ष रवि केसीले बताए ।

पहिलो पाइला नेपाल दमक शाखाले अघिल्लो सातानै दमकमा बृहत सरसफाई कार्यक्रमको शुरुवात गरेर दमकलाई सधैं सफा र स्वच्छ शहरका रुपमा स्थापित गराउन नेतृत्वदायी भुमिका लिन तयार भएको अध्यक्ष छवि बाँस्कोटाले बताए ।

 

Facebook Comments Box