दमक/ दमकमा सञ्चालित दुई वटा गैह्रनाफामुलक सामुदायिक अस्पताललाई नेपाल अमेरिका मेडिकल फाउण्डेशनले अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ ।
संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको प्रमुख उपस्थितीमा आम्दा अस्पताल दमक र किओच दमक बाल अस्पताललाई फाउण्डेशनको करिब ३ करोड लगानीमा जडान गरिएका ति प्लान्ट हस्तान्तररण गरिएको हो ।


नेपाल अमेरिका मेडिकल फाउण्डेशन अमेरिकाका पूर्व अध्यक्ष डा. भुपेश खडकाले मन्त्री बस्नेत मार्फत आम्दा अस्पताल दमकका मेडिकल सुपरिटेन्डेन्ड डा. प्रकाश शर्मा र किओच दमक बाल अस्पतालका परिकल्पनाकार तथा मुख्य योजनाकार डा. भगवान कोइरालालाई ति प्लान्टको स्वामित्व सम्बन्धि कागजात हस्तान्तरण गरेका छन । अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टले प्रतिघण्टा ४ सिलिण्डर अक्सिजन उत्पादन गर्न सक्ने बताइएको छ । सो अस्पतालको आवश्यकतालाई धानेर उपलब्ध हुन सक्ने अन्य अक्सिजन सरकारी अस्पतालहरुलाई उपलब्ध गराउने आम्दाले जनाएको छ ।
मंगलबार आम्दा अस्पताल दमक परिसरमा अस्पतालले आयोजना गरेको अक्सिजन प्लान्ट हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले अमेरिकामा रहने नेपाली चिकित्सकहरुले मानवीय सेवाको क्षेत्रमा पुरयाएको योगदानको प्रशंसा गरे । मन्त्री बस्नेतले सो अवसरमा स्वास्थ्य क्षेत्र मानवीय संवेदनासँग जोडिएको गहन बिषय भएकाले सेवाको भावनालाई उच्च प्राथमिकतामा राखेर सेवा दिनुपर्ने बताए । उनले स्वास्थ्य र शिक्षा नेपालको संविधानमानै उल्लेख रहेको मौलिक हकका बिषय भएकाले आम नेपाली नागरिकले यि सेवाहरु सके सम्म निशुल्क र विश्वसनिय ढंगबाट पाउनुपर्ने आफनो धारणा रहेको बताए । उनले स्वास्थ्य क्षेत्रलाई बजेटमा समेत प्राथमिकता दिनुपर्ने र बजेटको अभावकै कारण कुनैपनि सेवा अवरुद्ध हुन नहुने विचार व्यक्त गरे ।
कम्तीमा सरकारी स्वास्थ्य सेवालाई निशुल्क बनाएर नागरिकको स्वास्थ्यको हकको सम्मान गर्ने आफनो प्रयास स्वरुप सरकारी अस्पतालहरुमा निशुल्क बेडको व्यवस्था गर्ने क्रम शुरु भएको मन्त्री बस्नेतको भनाई छ । बिर अस्पतालको ७ सय बेड निशुल्क प्रयोग कार्यान्वयनमा आइसकेको र आजैमात्रै कोशी अस्पताल विराटनगरले पनि ३३० बेड निशुल्क गर्ने निर्णय गरेको जनाउ दिदै सके सम्म देशभरका सबै सरकारी अस्पतालमा निशुल्क बेड उपलब्ध गराउन सरकार प्रयत्नशील रहेको बताए ।
सो अवसरमा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले संघ, प्रदेश र स्थानीय सरकार तीनवटैले आआफनो ठाउँबाट स्वास्थ्य सेवालाई महत्व दिएर काम अघि बढाउनुपर्ने बताए । संघीय सरकार अन्तर्गत मुलुकभर २ हजार ६ सय डाक्टरको दरबन्दी रहेको बताउँदै यसले सबै पालिकाहरुमा सेवा दिन असम्भव भएकाले करारमा डाक्टरहरु निश्चित समयका लागि संघीय सरकारले पठाउन सक्ने र करार सकिएका डाक्टरहरुलाई सम्बन्धित पालिका र प्रदेश सरकारहरुलेनै राख्न सक्नु पर्ने सचिव डा. पोखरेलको भनाई छ ।
कार्यक्रममा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाइँले आम्दा अस्पतालले स्थापनाकालदेखिनै यहाँको स्वास्थ्य सेवामा पुरयाएको योगदान स्मरणीय रहेको उल्लेख गरिन । उनले दमक अस्पतालको बिकासका लागि सहयोग गर्न संघीय र प्रदेश सरकारको ध्यानाकर्षण गराइन । नगर प्रमुख एवं आम्दा अस्पतालका सञ्चालक समिति अध्यक्ष रामकुमार थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा मुटुरोग विशेषज्ञ एवं किओचका अध्यक्ष डा. भगवान कोइरालाले सेवाको भावना महत्वपूर्ण हुने बताए ।
सो अवसरमा आम्दा अस्पतालका मेसु डा.शर्माले अस्पतालका तर्फबाट आभार तथा धन्यवाद प्रकट गरेका थिए ।

 

Facebook Comments Box