दमक/ आर्थिक बर्षको अन्त्यतिर धमाधम चलिरहेका धेरै बिकासका योजनाहरुमा निर्माण पक्षले लापरवाही गरिरहेको पाइएको छ ।

सडक कालोपत्रे, पक्की ढल निर्माणका योजना हुन वा लकिङ टायल बिछयाउने योजनाहरु हुन अधिकांश योजनामा तोकिएको मापदण्ड नपुरयाई गुणस्तरहीन काम गर्ने क्रम देखिएको हो । धमाधम काम सम्पन्न गरेको रिपोर्ट तयार गरेर बजेट भुक्तानी लिन धाउने प्रयास निर्माण पक्ष र कतिपय उपभोक्ता समितीहरुले गर्ने गरेको पाइन्छ ।

झापाको कमल गाउँपालिका वडा नं ७ को बाह्रघरेहुँदै रङ्गपुर –गुहाबारी जोड्ने कालोपत्र सडक कालोपत्रे नसकिँदै भत्किन थालेको छ । करिव १८ करोड लागतमा बनेको कालोपत्र सडक पूर्ण रुपमा तयार नहुदै ठाउँ ठाउँमा भत्किन थालेको हो । सो योजनाका बिषयलाई लिएर स्थानीयबासीहरु विरोधमा उत्रिएका छन ।
सडक डिभीजन कार्यालय दमक मार्फत जे एण्ड जे कम्पनीले निर्माण गरेको कालोपत्रे सडक मापदण्ड अनुसार नहुदाँ भत्किन थालेको स्थानीयको आरोप छ । त्यहाँ स्थानीयबासीहरुले सम्बन्धित निकायको ध्यान जानु पर्ने आवाज उठाएका छन ।

कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले सो योजनामा स्थानीय नागरिकहरुले उठाएको आवाजलाई पालिकाको तर्फबाट सम्बोधन गरिने प्रतिबद्धता जनाएका छन । उनले पुरै सडक मर्मत गर्नुपर्ने पालिकाको अडान रहेको बताए ।
त्यो सडक योजना गुणस्तरहीन हुनुमा सडक डिभिजनका प्रमुखकै संलग्नताको आंशका पनि स्थानीयहरुले गरेका छन –अध्यक्ष राईले भने – विज्ञहरुबाट यसको सुक्ष्म अनुसन्धान गरिनुपर्छ , निर्माण कम्पनी र यसमा संलग्न डिभिजन प्रमुखसहित सबैलाई बिभागीय कारवाहीका लागि सम्बन्धित निकायमा पहल गरिनेछ ।

गाउँपालिका अध्यक्ष राई, उपाध्यक्ष प्रमिला न्यौपानेसहित प्राविधिकहरुबाट पनि सो योजनाको बारेमा स्थलगत अनुगमन गरि स्थानीय उपभोक्ताहरुसँग राय परामर्श समेत लिइएको जनाइएको छ ।
सडक मापदण्ड अनुसार गुणस्तरीय बनाउन सडक डिभिजन कार्यालय दमकका प्रमुखसँग छलफल गरिएको बताउँदै योजना मापदण्ड अनुसारको गुणस्तरीय नभए एक्सनमा उत्रिने पालिकाको चेतावनी छ ।
त्यसैगरी दमकको वडा नं २ स्थित देवीथान मार्गको किनारमा बनाईएको रिटेनिङ वाल गुणस्तरहीन हुँदा भत्किएको छ ।


चालू आर्थिक बर्ष २०७९/०८० को वडा नं २ को सिलिङ बजेट अन्तर्गतको १० लाख रुपैयाँ लागतमा बनाइएको पक्की पर्खाल भत्किएको छ । सम्बन्धित क्षेत्रका उपभोक्ताहरुले दमक नगरपालिकाबाट ठेक्का प्रकृया पुरा गरेर सञ्चालन भएको सो योजना अन्तर्गत बनेको संरचना गुणस्तरहीन भएका कारण भत्किदा नोक्सानी भएको बताउँदै सो सम्बन्धि काम पुनः गराइनु पर्ने बताउँदै आएका छन ।
दमक २ का वडाध्यक्ष प्रजापती सापकोटाले त्यहाँको संरचना निर्माण शुरु गरिँदानै कमसल सामग्रीको प्रयोग भएको आफूले देखेको बताए । वडाध्यक्ष सापकोटाले भने– मैंले पहिलानै यो काम राम्रो भएको छैन भनेर काम रोक्न भनेको हुँ तर टेरेनन । उनले सो योजनाको भुक्तानीका लागि आफूले सिफारिस नगरेको र यथास्थितीमा नगर्ने पनि प्रतिबद्धता जनाए ।

Facebook Comments Box