दमक/ अन्तराष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय वाल दिवसको अवसर पारेर सञ्चालन गरिएको बालबालिकाको वाक कला सम्बन्धिको प्रतिस्पर्धामा दमककी प्रेनुसा पाण्डेले उत्कृष्टता हासिल गरेकी छिन् ।

 

दमकको झापा मोडल अंग्रेजी माविको कक्षा १० मा अध्ययनरत प्रेनुसाले जिल्ला र प्रदेशस्तरको प्रतियोगितामा उत्कृष्टता प्रस्तुत गर्दै भोली शुक्रबारदेखि ३ दिन सम्म हुने राष्ट्रियस्तरको प्रतियोगितामा सहभागिता जनाउन लागेकी हुन् ।
विश्वव्यापी आवधिक समिक्षाका लागि बालबालिकाहरुको नेतृत्व तयारी सम्बन्धमा नेपाल सरकार र कन्सोर्टियम नेपालले आयोजना गरेको सो प्रतिस्पर्धामा प्रेनुसाले प्रदेश १ का १४ जिल्लाबाट सहभागी प्रतिस्पर्धीहरुलाई पछि पार्दै शुक्रबार काठमाडौंमा राष्ट्रपति र प्रधानमन्त्री संग समेत अन्तरक्रियाका लागि सहभागि हुने अवसर पाएकी हुन् ।

उनले सो अन्तरक्रियामा आफ्नो वाक कला ( बोल्ने क्षमता)का माध्यमबाट उत्कृष्ट र उपयुक्त धारणा प्रस्तुत गर्न सके सार्क राष्ट्रका प्रतिस्पर्धीहरुसंग प्रतिस्पर्धाको अवसर पाउने जनाइएको छ ।

को हुन प्रेनुसा पाण्डे ?

दमक नगरपालिका वडा नं ८ साविक वडा नं १३ मा बुबा प्रेम पाण्डे र आमा अनुको कोखबाट विसं २०६२ सालमा जन्मिएकी प्रेनुसाको बाल्यकालदेखीनै विशिष्ट किसिमको प्रतिभा छ ।
आनी बानी र व्यवहार सभ्य र शिष्ट भएकै कारण उनी सानैदेखी आफू भन्दा ठुलालाई आदर र सानालाई माया गर्ने गर्छिन ।
उनले कक्षामा सानैदेखी साथीहरु र आफ्ना शिक्षक शिक्षिकाहरु माझ आफ्नो नियमित पढाईका अतिरिक्त आमा, बुबा र गुरुहरुको प्रेरणाले निर्धक्कका साथ सम्बोधन सहित बोल्ने अभ्यास गरेकी छिन् । उनले लाखौं दर्शकहरु माझ पटक पटक सफल उद्घोषण कला प्रस्तुत गरेकी छिन् । उनी यस अघि दमक नगरस्तरी वाल वक्तृत्वकलामा प्रथम भएकी थिइन् । नृत्यमा पनि उनको उस्तै प्रतिभा छ ।
गत माघमा दमकमा सञ्चालन भएको बृहत बाल महोत्सवमा कार्यक्रम उद्घोषकका रुपमा सफल जिम्मेवारी सम्हालेकी उनको वक्तृत्व अर्थात उद्घोषण कलाले धेरै दर्शक तथा स्रोताहरुका माझमा राम्रो छाप छोडेपछि उनलाई आफ्नो प्रतिभाको विकासमा अझै हौसला मिलेको हो ।
प्रेनुसा उद्घोषणमा मात्रै होइन बाल साहित्य रचनामा पनि अग्रपक्तिंमा आउँछिन् । साहित्यीक क्षेत्रमा रुची भएकै कारण उनले कविता, लघुकथा, मुक्तक, बाल कथा आदि लेखेर साथीहरु र आफ्ना गुरुहरु माझ प्रस्तुत गरिसकेकी छिन् ।
सीए बन्ने लक्ष्य
पढाईमा समेत उस्तै अब्बल प्रेनुसाले शैक्षिक जिवनपछि आफू चार्टर एकाउण्ट ( सीए) बनेर मुलुकको वित्तिय क्षेत्रमा सेवा गर्ने अठोट लिएकी छिन् । पेशाका रुपमा मैंले सीए बन्ने लक्ष्य राखेको छु त्यो संगसंगै एउटी सभ्य र शिक्षित नारीको पहिचान समाजमा छोड्ने मेरो लक्ष्य छ – निष्कर्ष न्यूज साप्ताहिकको नमुना अंकमा विशेष बाल प्रतिभाका रुपमा उनका बारेमा सामग्री प्रकाशन गरिएको थियो ।

Facebook Comments Box