दमक/झापा दमककी प्रेनुसा पाण्डेले बालबालिकासंग राष्ट्रपति कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीसंग आफ्नो जिज्ञासा राखेकी छिन् ।
बाल दिवसको अवसरमा कार्यक्रमको जिल्ला, प्रदेशस्तरमा सहभागिता जनाउँदै उनले शनिबार राष्ट्रपति भण्डारीसंगको अन्तरक्रियामा ‘राष्ट्रपतिज्यू हजुरको बाल्यकाल कसरी बित्यो ?’ भनि जिज्ञासा राखेकी थिइन् ।

जवाफमा राष्ट्रपतिले भनिन , ‘मेरो बाल्यकाल फरक थियो, अहिलेको समय धेरै फरक छ, त्यतिबेला आजभन्दा करीब ६० वर्ष पहिला बालबालिकाको लागि धेरै कुराहरू सोचिएको थिएन । त्यतिबेलाको समय, देश, काल परिस्थिति, हाम्रो देशको चेतनास्तर, समाज सबै कुराले फरक थियो । त्यो अवस्था र अहिले हेर्ने हो भने धेरै सकारात्मक परिवर्तन आएको छ ।’
राष्ट्रपति भण्डारीले आफू नेपालको राष्ट्रपति निर्वाचित भएपछि २० वर्षपछि आफ्नो माइती गाउँ भोजपुर पुगेको सुनाइन् । राष्ट्रपति भण्डारीले करीब ३५÷३६ सालमा गाउँ छोडेको र विद्यालय पढ्ने समयमा बाटोघाटोको समस्या भएको , जङ्गल र पुल नभएको खोला पार गर्नुपर्ने अवस्था रहेको सुनाइन् । उनले आफू विद्यालय अध्ययन गर्ने क्रममा कत्ति पनि सूचना, सञ्चार प्रविधिको विकास नभएको र अहिलेका विद्यार्थीको हातहातमा मोबाइल भएको प्रसङ्ग पनि ल्याइन् ।
‘त्यतिबेला त साँझ परेपछि बत्ती हुँदैन थियो, सानो टुकी बाल्ने हो त्यो पनि मट्टितेल नभएर कहिले तोरीको तेलमा बत्ती बालेर पढिन्थ्यो । तर अहिले तपाईँहरूले पनि मैले भोगेको केही अंश भोगिरहनुभएको जस्तो लाग्छ’, राष्ट्रपति भण्डारीले भनिन् ।
त्यतिबेला अक्षर चिन्न गाह्रो थियो, तपाईँहरूले कलम कपीबाटै अक्षर चिन्नुभयो होला, मैले भने पहिलोचोटि अक्षर लेख्दाखेरि रातो माटो धुलो बनाएर काठको फलेकमा सिन्काले कोरेर हजुरबुबाले लेख्न सिकाइदिनुभएको थियो उनले थपिन ‘पछि विस्तारै विद्यालय खोलेर शिक्षकहरू राखेर पढाइहुन्थ्यो । हामी एकदमै विकट क्षेत्रबाट हुर्केर आएको हो, त्यसैले यहाँको भौगोलिक अवस्था र जनताको दुःख मलाई राम्रैसँग थाहा छ, मैले त्यो महसुस गरेको छु ।’

बालिका सम्झना गोराथोकीले राखेको जिज्ञासामा राष्ट्रपति भण्डारीले बालबालिका भनेको देशको एउटा निर्णयक जनशक्ति भएको र भोलि देश समाल्ने नेतृत्वकर्ता भएको बताइन् । त्यसैले राष्ट्रको सम्पूर्ण ध्यान बालबालिकाको उज्यालो भविष्यतर्फ केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।

Facebook Comments Box